


दमौली, २२ पुस । व्यास नगरपालिकाको नगर कार्यपालिकाको नियमित बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। मङ्गलबार सम्पन्न नगर कार्यपालिकाको बैठक (बैठक नं. २२९) का निर्णयहरू सार्वजनिक गरिएको हो। बैठक नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो।
बैठकमा नगर उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा विषयगत शाखा र उपशाखा प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकले नगरपालिकाको समग्र सेवा प्रवाह, आर्थिक तथा संस्थागत व्यवस्थापनसम्बन्धी विभिन्न निर्णयहरू गरेको नगरपालिकाले जनाएको छ।
बैठकका निर्णयअनुसार गत कार्यपालिकाबाट भएका निर्णयहरू तथा नगरपालिकाबाट प्रवाह हुँदै आएका सेवाको समीक्षा गरिएको छ। यस्तै, आगामी पौष २५ गते बस्ने ४४औँ नगरसभामा पेश गरिने आर्थिक विधेयक, विनियोजन विधेयक, व्यासनगर वनसम्बन्धी विधेयक लगायत आवश्यक अन्य ऐनहरूको संशोधन प्रस्ताव विधायन समितिबाट प्रस्तुत प्रस्ताव पारित गरिएको छ।
त्यसैगरी, आगामी नगरसभामा पेश गरिने आर्थिक वर्ष २०८२/०८३ को आय–व्ययको संशोधित प्रस्ताव समेत बैठकले पारित गरेको छ। प्रमुख प्रशासकीय अधिकृतमार्फत प्रस्तावित संगठन संरचनालाई संशोधनसहित पारित गर्दै उक्त संरचना आगामी नगरसभामा पेश गर्ने निर्णय पनि गरिएको छ।
नगर शिक्षा समितिबाट पारित भई नगर शिक्षा शाखा प्रमुखद्वारा प्रस्तुत विद्यालय शिक्षक तथा कर्मचारी दरबन्दी मिलान प्रतिवेदन र शिक्षक अध्ययन विदा सम्बन्धी प्रस्तावलाई समेत आवश्यक संशोधनसहित बैठकले स्वीकृत गरेको छ।
