स्याङ्जा–२ मा रास्वपाबाट डा. खनालको चर्चा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    स्याङ्जा–२ मा रास्वपाबाट डा. खनालको चर्चा

    खबरपुञ्ज संवाददाता

    २२ पुष २०८२, बुधबार

    पोखरा, २३ पुस । स्याङ्जा–२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा. तुलसीराम खनालको नाम चर्चामा आएको छ। पछिल्लो समय राजनीतिक तथा सामाजिक वृत्तमा डा. खनाललाई सम्भावित उम्मेदवारका रूपमा हेर्न थालिएको हो।

    शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाको क्षेत्रमा सक्रिय भूमिकामा रहेका डा. खनालप्रति स्थानीय मतदातामाझ सकारात्मक धारणा बढ्दै गएको बताइएको छ। उनी स्वच्छ छवि, विषयगत ज्ञान र नीति–निर्माणमा दख्खल राख्ने व्यक्तित्वका रूपमा चिनिँदै आएका छन्।

    रास्वपाले स्याङ्जा–२ मा संगठन विस्तारसँगै योग्य, सक्षम र जनउत्तरदायी उम्मेदवारको खोजी गरिरहेको अवस्थामा डा. खनालको नाम अगाडि आएको विश्लेषकहरूको भनाइ छ।

    स्थानीयस्तरमा बढ्दो चर्चासँगै डा. खनालको भूमिकाले आगामी राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढ्दै गएको छ।

    को हुन् खनाल ?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी सम्हालेका उनी शिक्षाविद् तथा संस्कृतिविद् हुन् । तीन दशकभन्दा लामो अध्यापन अनुभवका कारण शैक्षिक वृत्तमा ‘तुलसी सर’ नामले परिचित उनी लेखक, प्राध्यापक र अनुसन्धानकर्ताका रूपमा पनि चिनिन्छन्।

    डा. खनालले नेपालको १२० जातजातिमाथि गहिरो अनुसन्धान गरेका छन्। साथै देशका ८० वटा स्थानीय तहका लागि स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखनमा उनको महत्वपूर्ण योगदान रहेको छ। गण्डकी प्रदेशका भीरकोट, वालिङ, गल्याङ, चापकोट र कालीगण्डकी गाउँपालिकालगायतका सबै पालिकामा रहेका जातजाति, संस्कृति र शिक्षासम्बन्धी विषयमा उनले विस्तृत अध्ययन गरेका छन्।

    शिक्षा र संस्कृतिको क्षेत्रमा मात्र होइन, उनी मोटिभेसनल स्पीकरका रूपमा पनि देशभर चर्चित छन्। भारतको नयाँ दिल्लीमा प्रयोगमा आएको ‘खुसी पाठ्यक्रम’ सम्बन्धी अनुसन्धानमा समेत उनको संलग्नता रहेको छ।

    गण्डकी प्रज्ञा प्रतिष्ठानका अनुसन्धान विज्ञसमेत रहेका खनालले शिक्षा, संस्कृति र समाज रूपान्तरणको क्षेत्रमा निरन्तर योगदान दिँदै आएका छन्।