तनहुँ–२ मा रास्वपाबाट मनराज कि श्रीराम ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ–२ मा रास्वपाबाट मनराज कि श्रीराम ?

    खबरपुञ्ज संवाददाता

    २२ पुष २०८२, बुधबार

    दमौली, २३ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र उम्मेदवारीको विषयलाई लिएर चासो बढ्दै गएको छ। रास्वपाबाट मनराज गुरुङ र श्रीराम न्यौपानेमध्ये कसले टिकट पाउने भन्ने विषय अहिले राजनीतिक वृत्तमा व्यापक छलफलको केन्द्रमा छ।

    मनराज गुरुङ उज्यालो नेपाल पार्टीबाट रास्वपामा समायोजन भएका नेता हुन्। उनी उज्यालो नेपाल पार्टीका गण्डकी प्रदेश संयोजकसमेत रहेका थिए। ऊर्जा क्षेत्रमा चर्चित व्यक्तित्व कुलमान घिसिङसँग निकट सम्बन्ध रहेका गुरुङलाई गण्डकी प्रदेशमा प्रत्यक्षतर्फको टिकटमा पहिलो प्राथमिकतामा राखिएको चर्चा छ। पार्टीभित्र उनको सम्भावना बलियो देखिएको विश्लेषकहरू बताउँछन्।

    गुरुङ विसं २०७४ सालमा शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्षसमेत भइसकेका अनुभवी जनप्रतिनिधि हुन्। साथै उनी तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का उपाध्यक्षसमेत रहेका छन्। सरल स्वभाव, सबैमाझ परिचित व्यक्तित्व र जनसम्पर्कमा दख्खल भएका कारण उनीलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ।

    यता श्रीराम इन्जिनियर पेसाले इन्जिनियर हुन्। तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत भानु नगरपालिका घर भएका उनी पछिल्लो समय तनहुँ–२ मा केन्द्रित भएर राजनीतिक गतिविधि बढाइरहेका छन्। उनले केही समयअघिदेखि तनहुँ–२ का विभिन्न विद्यालयमा स्मार्ट टिभी वितरण गर्दै सामाजिक गतिविधिमार्फत आफ्नो उपस्थिति जनाइरहेका छन्।

    उर्जा विज्ञका रुपमा परिचित न्यौपाने रास्वपाको केन्द्रीय उर्जा विभाग प्रमुख हुन् । उनको विज्ञताका कारण रास्वपाले न्यौपानेलाई तनहुँ-२ मा उम्मेदवार बनाउन सक्ने ऑकलन पनि छ ।

    उज्यालो नेपाल पार्टी रास्वपामा समायोजन हुनुअघि श्रीराम रास्वपाबाट तनहुँ–२ का लागि बलियो दाबेदार मानिँदै आएका थिए। तर कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपामा समायोजन भएपछि मनराज गुरुङको राजनीतिक हैसियत र प्रभाव बढेको र उनी तनहुँ–२ बाट अझ बलियो उम्मेदवारका रूपमा अगाडि आएको चर्चा छ।

    रास्वपाले उम्मेदवार छनोटमा संगठन, जनसमर्थन, सामाजिक प्रभाव र जित्ने सम्भावनालाई आधार बनाउने बताउँदै आएको छ। यस्तो अवस्थामा मनराज र श्रीराममध्ये कसले टिकट पाउँछ भन्ने विषयले तनहुँको राजनीतिक सरगर्मी अझ बढाएको छ। पार्टीको औपचारिक निर्णय आउन बाँकी रहे पनि तनहुँ–२ मा रास्वपाको टिकटलाई लिएर चासो उच्च देखिएको छ।