


दमौली, २६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहका केन्द्रीय सदस्य ध्रुव वाग्ले पार्टीको विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । वाग्लेले विधिसम्मत ढंगले डाकिएको विशेष महाधिवेशनलाई केन्द्रीय समितिले अवैधानिक भन्न नपाउने बताए ।
त्यस्तै उनले जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीको आक्रमणमा परेर घाइते भएका देउवा थप उपचारका लागि सिंगापुर जाँदा कार्यवाहक दिएर गए पनि फर्केपछि पुन: सम्पूर्ण शक्ति आफैँले लिएको भन्दै आपत्ति जनाए ।
‘विशेष महाधिवेशन विधिसम्मत ढंगले डाकिएको हो। विधिसम्मत डाक्दा विधानको अपव्याख्या हो भन्ने अधिकार केन्द्रीय समितिलाई हुँदैन । शेरबहादुर देउवा जेनजी आन्दोलनपछि कार्यवाहक दिएर सिंगापुर जाँदा उहाँको उचाइ बढेको थयो । फर्केपछि सम्पूर्ण शक्ति आफ्नो हातमा राखेर कांग्रेस चलाउन खोज्दै हुनुहुन्छ यो पार्टी हितमा छैन,’ उनले भने, ‘पहिले गिरिजाबाबुले डाकेको विभाजनलाई कृष्णभट्टराईले रोक्नु भएको थियो । अहिले त्यस्तै काम देउवाले गर्नुपर्छ । भेलामा आएर सम्बोधन गर्नुपर्छ ।’