


दमौली, २७ पुस। तनहुँ उद्योग वाणिज्य संघको आगामी अधिवेशन नजिकिँदै जाँदा वरिष्ठ उपाध्यक्ष पदका लागि आकांक्षीहरूको चर्चा सुरु भएको छ। संघका हालका प्रथम उपाध्यक्ष कुमार मल्ल वरिष्ठ उपाध्यक्ष पदका लागि स्वभाविक दाबेदारका रूपमा अगाडि देखिएका छन् ।
दमौली बजार इकाई सदस्यका रूपमा संघमा यात्राको सुरुआत गरेका मल्ल क्रमशः जिल्ला प्रतिनिधि, संघको द्वितीय उपाध्यक्ष हुँदै हाल प्रथम उपाध्यक्षको जिम्मेवारीमा रहँदै आएका छन्। संघभित्र विभिन्न तह र जिम्मेवारीमा रहेर काम गरेको लामो अनुभवका आधारमा उनले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो दाबी स्वभाविक भएको बताउँदै आएका छन् ।
उद्योगी व्यवसायीका हकहित, समस्या समाधान, बजार व्यवस्थापन, नीतिगत सुधार तथा संघको संस्थागत सुदृढीकरणका लागि निरन्तर सक्रिय रहँदै आएका मल्ललाई व्यवसायी समुदायभित्र अनुभवी र कर्मशील नेताका रूपमा चिनिन्छ। विशेषतः दमौली बजार क्षेत्रको संगठन विस्तार, व्यवसायीको आवाज स्थानीय तहदेखि सम्बन्धित निकायसम्म पुर्याउन उनको भूमिकालाई सकारात्मक रूपमा लिइएको छ।
उनले भने, ‘वरिष्ठ उपाध्यक्षमा मेरो दावी स्वभाविक हो । संघको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका कारण व्यवसायीले अगाडी बढ्न सकारात्मक सुझाव दिनुभएको छ ।’
संघका हालका महासचिव सुबोध अधिकारीले पनि सोही पदमा दाबी प्रस्तुत गरेका छन्।
