


दमाैली, २८ पुस । तनहुँ उद्योग वाणिज्य संघले आफ्नो ४०औँ वार्षिक साधारण सभा तथा १८औँ महाधिवेशनको अवसरमा जिल्लाभित्र कृषि र उद्योग क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका कृषक तथा उद्योगीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
कार्यक्रममा म्याग्दे गाउँपालिका–२ का किसान जागरण सुन्तला बगैँचा फर्मका सञ्चालक शुकनारायण श्रेष्ठ, व्यास नगरपालिका–१० डिहीगाउँस्थित अनन्त पोल्ट्री एण्ड मल्टी एग्रिकल्चर प्रा.लि. का सञ्चालक कालिका पौडेल, व्यास नगरपालिका–११ का लामा कृषि तथा पशु फर्मका सञ्चालक जयबहादुर लामा, आँबुखैरेनी गाउँपालिका–१ सत्रसयफाँटका दीप तारा कृषि तथा पशु फर्मका सञ्चालक तारा अधिकारी तथा व्यास नगरपालिका–५ चापाघाटका सुबोध फुड्सका सञ्चालक सुबोध वाग्लेलाई सम्मान गरिएको हो।
सम्मानित कृषक तथा उद्योगीलाई संघका अध्यक्ष बैकुण्ठनाथ मिश्र तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले दोसल्ला, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा बोल्दै संघका अध्यक्ष मिश्रले कृषि र उद्योग क्षेत्र जिल्लाको आर्थिक मेरुदण्ड भएको उल्लेख गर्दै मेहनती कृषक र उद्यमीलाई प्रोत्साहन गर्न संघले हरेक वर्ष सम्मान गर्दै आएको बताए।
कार्यक्रममा प्रमुख अतिथि वैद्यले सम्मानित व्यक्तिहरूको योगदानको प्रशंसा गर्दै यस्ता सम्मानले उत्पादनशील क्षेत्रप्रति युवाको आकर्षण बढ्ने विश्वास व्यक्त गरे।
