


दमौली, ३० पुस । तनहुँको व्यास नगरपालिका–६ बाह्रबिसे युवा क्लवले आज आयोजना गरेको व्यासगुफा–गलेखामकोट अल्ट्रा हाफ म्याराथनको उपाधि आँबुखैरेनीका सनम गुरुङले जितेका छन् । ३४ धावकलाई पछाडि पार्दै व्यास नगरपालिका–३ व्यास गुफादेखि व्यास नगरपालिका–६ गलेखामकोटसम्मको २१ किलोमिटर दूरीको म्याराथनमा गुरुङ प्रथम भएका हुन् ।
म्याराथनमा शुक्लागण्डकी नगरपालिकाका टोपबहादुर कुमाल द्वितीय र भानु नगरपालिकाका आदित्य जिसी तृतीय भएका छन् ।
विजेतालाई क्रमशः रु ३५ हजार, रु २५ हजार र रु १५ हजार नगद पुरस्कार प्रदान गरिएको क्लवका अध्यक्ष ज्ञानबहादुर गुरुङले जानकारी दिए।
दुई धार्मिक तथा पर्यटकीय स्थल व्यासगुफा र गलेखामकोटलाई खेलकुदको माध्यमबाट जोड्ने र दुवै ठाउँको पर्यटन प्रबद्र्धन गर्ने लक्ष्य सहित हाफ म्याराथन गरिएको उनले बताए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदले दुई ठाउँको धार्मिक पर्यटन प्रचारप्रसारमा सहयोग पुग्ने धारणा राखे । उनले भने, “व्यास गुफा महत्वपूर्ण धार्मिकस्थल हो । गलेखामकोट धार्मिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण कोट हो । त्यसको विकास र प्रबद्र्धनका लागि जुटेका छौ ।” म्याराथनले गलेखामकोटसम्म भावनात्मक हिसाबले सम्बन्ध जोड्न सहयोग पुगेको बताउँदै नगरप्रमुख न्यौपानेले गलेखामकोटको थप प्रचारप्र्रसार गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए।
व्यास नगरपालिका–६ का वडाध्यक्ष एवं नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरुङले गलेखामकोटलाई पर्यटकीय हिसाबले विकास गर्ने उद्धेश्यसहित म्याराथन आयोजना गरिएको उल्लेख गरे । उनले भने, “यसले भोलिका दिनमा व्यास नगरपालिका ६ लाई अगाडी बढाउन सहयोग पुग्नेछ । यसलाई पर्यटकीय हिसाबले विकास गर्न सकिए स्थानीयको आर्थिक सवलीकरणमा टेवा पुग्नेछ ।”
