


दमौली, १६ फागुन । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले मतदानस्थलमा खटिने सुरक्षा निकायका कमाण्डरहरूलाई निर्वाचन सुरक्षा ब्रिफिङ गरिएको छ।
जिल्ला सुरक्षा समितिको आयोजनामा व्यास नगरपालिका–३, दमौलीस्थित सभाहलमा आयोजित कार्यक्रममा मतदानस्थल, मोबाइल तथा रिजर्भ टोलीका कमाण्डरहरूको सहभागिता रहेको थियो। कार्यक्रममा तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरूले निर्वाचन अवधिभर अपनाइने सुरक्षा रणनीति, संवेदनशील क्षेत्रको व्यवस्थापन, भीड नियन्त्रण, आकस्मिक अवस्थाको प्रतिकार योजना तथा समन्वय संयन्त्रबारे विस्तृत जानकारी गराएका थिए।

ब्रिफिङका क्रममा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले कानुनको पालना र मतदाताको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिए। त्यस्तै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले निर्वाचनको दिन कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सतर्कता बढाइने बताए।
कार्यक्रममा सहभागी कमाण्डरहरूले आ–आफ्ना क्षेत्रगत तयारी र चुनौतीबारे जानकारी गराउँदै शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन पूर्ण प्रतिबद्धता जनाएका छन्।