


दमौली, १७ फागुन । उज्यालो नेपाल पार्टीबाट तनहुँ क्षेत्र नं. १ का उम्मेदवार मन्जिल रानाले नेपाली समाजको मौलिक विशेषता विविधता भित्रको एकता भएको बताएका छन्। “विविधता भित्रको एकता नै नेपाली समाजको विशेषता हो,” भन्दै उनले समाजमा समानता र पारस्परिक सम्मानको संस्कृति बलियो बनाउन आवश्यक रहेको धारणा राखेका छन्।
रानाले आफूले शिक्षण पेशामा रहँदा वर्ग, जात, धर्म, संस्कृति वा पारिवारिक पृष्ठभूमिका आधारमा कहिल्यै भेदभाव नगरेको उल्लेख गरे। समान व्यवहारकै कारण विद्यालयमा यस्तो वातावरण निर्माण भएको उनले बताए, जहाँ विद्यार्थीहरूले आ–आफ्नो संस्कृतिलाई रमाइलोसँग मनाउन र एकअर्काबाट नयाँ कुरा सिक्न सकेका थिए।
उनका अनुसार यही अनुभवले देखाएको छ कि राष्ट्रिय नीतिहरूले पनि समानता र विविधताको सम्मान सुनिश्चित गर्नुपर्छ। “नीति निर्माणदेखि कार्यान्वयनसम्म हरेक तहमा समान अवसर र सम्मानको वातावरण कायम हुनु जरुरी छ,” रानाले भने।
साथै उनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै सिरिया, इरान, इराक, इजरायल, कुवेत र बहरैनमा रहेका नेपाली नागरिकहरूको हित र सुरक्षाप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन्। उनले परराष्ट्रमन्त्रीमार्फत ती देशहरूमा रहेका नेपालीहरूलाई आवश्यक सहयोग र सुरक्षा सुनिश्चित गर्न सक्रिय पहल गर्नुपर्नेमा जोड दिएका छन्।
रानाले सामाजिक सद्भाव, समानता र नागरिक सुरक्षालाई प्राथमिकतामा राखेर राजनीति गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।