निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न प्रशासनको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न प्रशासनको आग्रह

    खबरपुञ्ज संवाददाता

    १६ फाल्गुन २०८२, आईतवार

    दमाैली, १७ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै तनहुँ प्रशासनले निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

    निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद–४ दफा १३ (घ) बमोजिम जुलुस वा आमसभामा सहभागी हुने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी/क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क, लकेट लगाउन वा झोला बोक्न नपाइने व्यवस्था छ। साथै अन्य राजनीतिक दलका कार्यक्रमलाई प्रभावित गर्ने गतिविधि गर्न नहुने र प्रचारप्रसारका क्रममा निर्वाचन चिन्हको भौतिक प्रयोग नगर्न/नगराउन स्पष्ट निर्देश गरिएको छ।

    तर तनहुँ जिल्लामा केही राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधिबाट उक्त प्रावधानको पालना नभएको, साथै केही जनप्रतिनिधि, सरकारी विद्यालयका शिक्षक तथा राष्ट्रसेवक कर्मचारीले आचारसंहिता विपरीत उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भन्ने मौखिक गुनासो प्राप्त भएको प्रशासनले जनाएको छ।

    सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला आचारसंहिता अनुगमन अधिकृत दिपक रेग्मीद्वारा जारी सूचनामा उल्लेख गरिएका गतिविधि निर्वाचन आचारसंहिता, २०८२ विपरीत रहेको स्पष्ट पारिएको छ।

    तनहुँ जिल्लाका सबै राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि तथा आचारसंहिता पालना गर्नुपर्ने सम्पूर्ण सरोकारवालालाई यस्ता गतिविधि नगर्न/नगराउन र आचारसंहिताको पूर्ण पालना गर्न प्रशासनले आग्रह गरेको छ। आचारसंहिता उल्लंघन भएको पाइएमा निर्वाचन कानून बमोजिम कारबाही हुनेसमेत सूचनामा उल्लेख छ।