


दमौली, २ चैत । तनहुँ जिल्लामा भएको दुई छुट्टाछुट्टै आगलागी घटनाबाट पीडित व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउन तनहुँ उद्योग वाणिज्य संघले सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।
गत फागुन २८ गते राति व्यास नगरपालिका–५ मानुङकोटस्थित पूर्णबहादुर श्रेष्ठद्वारा सञ्चालित होटल मानुङकोट एण्ड रिसोर्टमा विद्युत् सर्ट भई आगलागी हुँदा ठूलो भौतिक तथा आर्थिक क्षति पुगेको छ।
यस्तै सोमबार बिहान व्यास नगरपालिका–२ स्थित दमौली मिनी मार्केटमा भएको आगलागीमा भरत पराजुलीद्वारा सञ्चालित ‘अभिरा क्लोथेज होम’ र लालबाबु अन्सारीद्वारा सञ्चालित ‘सिस्ता टेलर्स’ पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
तनहुँ उद्योग वाणिज्य संघ तथा दमौली बजार इकाई समितिले पीडित व्यवसायीहरू पूर्णबहादुर श्रेष्ठ, भरत पराजुली र लालबाबु अन्सारी प्रति गहिरो सहानुभूति व्यक्त गर्दै क्षतिको यथार्थ मूल्याङ्कन गरी शीघ्र राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकार, स्थानीय प्रशासन र सम्बन्धित निकायलाई आग्रह गरेको छ।
संघका अध्यक्ष इमकुमार मल्ल, महासचिव सुरेश पुरी, दमौली बजार इकाई सभापति शेषराज श्रेष्ठ र सचिव सुनिता चन्दले संयुक्त रुपमा जारी विज्ञप्तीमा विपद्को यस कठिन घडीमा पीडित व्यवसायीलाई पुनः व्यवसाय सञ्चालन गर्न सहयोग पुर्याउन सबै सरोकारवाला पक्षलाई रचनात्मक भूमिका खेल्न अपिल पनि गरिएको छ ।
साथै आगलागी नियन्त्रणमा खटिएका सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सहयोग गर्ने स्थानीयवासीप्रति संघले आभार व्यक्त गरेको छ।
