


दमाैली, ३ चैत । वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सचेतना सप्ताह अन्तर्गत तनहुामा वृहत ¥याली प्रदर्शन गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले म्याग्दे गाउँपालिका–४ थर्पु बजारदेखि जामुने बजारसम्म वृहत ¥याली प्रदर्शन गरेको हो ।
सो कार्यक्रममा म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाका विभिन्न सामुदायिक वन समूहका उपभोक्ताहरुको सहभागिता रहेको थियो ।
वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सप्ताह अन्तर्गत कार्यालयले समुदायस्तरसम्म पुगेर सचेतनामूलक कार्यक्रम गर्ने डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले जानकारी दिए । वन डढेलो नियन्त्रणका लागि समुदायको भूमिका महत्वपूर्ण हुने भएकाले समुदायस्तरसम्म पुगेर सचेतना जगाउने कार्यलाई प्राथमिकतामा राखिएको रानाभाटले बताए ।
रानाभाटले यस वर्ष जिल्लालाई शुन्य डढेलोमुक्त बनाउने लक्ष्य राखिएको र डढेलोमुक्त बनाउने सामुदायिक वनलाई पुरस्कृत गरिने उल्लेख गरे । स्थानीय सरकार र स्थानीयवासीको सहयोगका कारणमात्रै डढेलो नियन्त्रण गर्न सम्भव रहेकाले चेतनाको अभाव र लापरवाहीले डढेलोको घटना बढिरहेको टिप्पणी गरे ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वन डढेलो नियन्त्रणका लागि स्थानीयवासी नै चेतनशील हुनुपर्ने बताउँदै डढेलो लाग्नै नदिने र लागिहालेमा सामुदायिक वनका उपभोक्ता क्रियाशील हुनुपर्ने चर्चा गरे ।
म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले कतिपयले जानीजानी वनमा डढेलो लगाउने गरेको भन्दै त्यस्ता प्रवृत्ति नियन्त्रण गर्न सकिए डढेलो नियन्त्रण स्वतः कम हुँदै जाने उल्लेख गरे ।
सामुदायिक वन उपभोक्ता महासङ्घ म्याग्देका अध्यक्ष बालकृष्ण श्रेष्ठले गाउँपालिकाभित्रका सामुदायिक वनका उपभोक्तालाई डढेलो नियन्त्रणका लागि जागरुक बनाइएको बताए ।
