


दमौली, ६ चैत । तनहुँको दमौली अस्पतालको निरीक्षण भएको समाचार सार्वजनिक भएपछि स्थानीय स्तरमा सेवा प्रवाहको वास्तविक अवस्थाबारे फेरि बहस सुरु भएको छ। निरीक्षण केवल औपचारिकतामा सीमित हुँदा अस्पतालभित्रका गम्भीर समस्याहरू समाधान हुन नसकेको गुनासो सेवाग्राहीहरूले गरेका छन्।
निरीक्षणका क्रममा कागजी प्रक्रिया पूरा गर्नेभन्दा सेवाग्राहीसँग प्रत्यक्ष संवादको अभाव देखिएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। सेवा लिन आएका बिरामीहरूको अनुभव, गुनासा र पीडालाई बेवास्ता गर्दा अस्पतालको यथार्थ अवस्था बाहिर आउन नसकेको उनीहरूको भनाइ छ।
विशेषगरी सुगर (मधुमेह) का बिरामीहरूले खाली पेटमा बिहानै रगत जाँचका लागि आएर घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन। स्वास्थ्य अवस्था संवेदनशील भएका बिरामीलाई लामो प्रतीक्षामा राख्नु व्यवस्थापनको कमजोरीसँगै मानवीय संवेदनशीलताको अभाव भएको भन्दै आलोचना भइरहेको छ।
त्यस्तै, स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा लिन आएका बिरामीहरूले पनि झन्झटिलो प्रक्रिया, ढिलो सेवा र औषधि अभाव जस्ता समस्याहरू भोगिरहेका छन्। रिफर लिएर टाढाबाट आएका सेवाग्राहीहरू बिहानभर लाइनमा बस्न बाध्य हुनु सेवा प्रणालीकै कमजोरी भएको टिप्पणी गरिएको छ।
अस्पतालमा टिकट लिनेदेखि डाक्टरसम्म पुग्ने प्रक्रियासम्म अव्यवस्थित देखिएको छ। लामो लाइन, अस्पष्ट व्यवस्थापन र समन्वय अभावले सेवाग्राहीहरू थप सास्तीमा परेका छन्, जसले अस्पतालप्रतिको जनविश्वाससमेत कमजोर बनाएको छ।
स्थानीय सरोकारवालाहरूले अब निरीक्षणलाई औपचारिकतामा सीमित नराखी सेवाग्राहीको प्रत्यक्ष अनुभवलाई आधार बनाएर सुधारका ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन्। खाली पेट आउने बिरामीका लागि प्राथमिकता सेवा, बीमा सेवामा सहजता, औषधिको नियमित उपलब्धता तथा समन्वित सेवा प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
अस्पताल प्रशासन तथा सम्बन्धित निकायलाई जनताको स्वास्थ्यसँग जोडिएको संवेदनशील विषयमा ढिलाइ नगरी सेवा गुणस्तर, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न आग्रह गरिएको छ। यसले मात्र स्वास्थ्य सेवा र बीमा प्रणालीप्रति जनविश्वास पुनःस्थापित गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।
(जिल्ला समन्वय समिति तनहुँका पूर्व सदस्य गलबहादुर गुरुङले व्यक्त गरेको भनाई)