सामूहिक प्रयासबाट मात्रै वन डढेलो नियन्त्रण सम्भव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सामूहिक प्रयासबाट मात्रै वन डढेलो नियन्त्रण सम्भव

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०८२, शुक्रबार

    दमौली, ६ चैत । डिभिजन वन कार्यालय तनहुँको आयोजनामा शुक्रबार जिल्ला स्तरीय वन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी सरोकारवालाहरूले वन डढेलो नियन्त्रणका लागि सामूहिक प्रयास, जनचेतना र प्रभावकारी कार्ययोजनाको आवश्यकता औंल्याएका छन्।

    प्रमुख जिल्ला अधिकारी शिव तिवारीले डढेलो नियन्त्रणका लागि प्रतिकार्य योजना तयार पारिएको जानकारी दिए। उनले सबै निकाय र नागरिकको सामूहिक प्रयासबाट मात्रै डढेलो नियन्त्रण सम्भव हुने उल्लेख गर्दै जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने बताए।

    सामुदायिक वन उपभोक्ता महासंघ तनहुँका अध्यक्ष विष्णुकुमार श्रेष्ठले डढेलो नियन्त्रणका लागि सबै सामुदायिक वनमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनले वन संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

    नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले वन डढेलो नियन्त्रणका लागि जनचेतना नै प्रमुख उपाय भएको बताए। उनले सरोकारवाला निकायबीच सहकार्य गर्दै जनस्तरसम्म सन्देश पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने धारणा राखे।

    डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले सप्ताहव्यापी कार्यक्रम सकिए पनि वास्तविक काम अब सुरु हुने बताएका छन्। उनले डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउन आगामी दिनमा थप सक्रियता आवश्यक रहने बताए।