


काठमाडौ, ७ चैत । इरानी सुरक्षा फौजले उदयपुर, गाईघाटका ३० वर्षीय अमृत झालाई हर्मुजको जलघाटी क्षेत्रबाट नियन्त्रणमा लिएको छ । इरानमा तेल लिन जाने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा उनलाई इरानी सेनाले नियन्त्रणमा लिएको हो ।
अमृतकी दिदी पूजा झाका अनुसार अमृत इरानी सेनाको नियन्त्रणमा रहेको ‘भ्वाइस मेसेज’ केही दिनअघि ह्वाट्सएपमा आएको थियो । ‘आठ दिनअघि एउटा नचिनिएको नम्बरबाट ह्वाट्सएपमा भ्वाइस मेसेज आएको थियो, मेसेजमा भाइले हामीलाई इरानी सेनाले कस्टडीमा लिएको छ, अरू भारतीय पनि पक्राउ परेका छन् भनेको थियो,’ पूजाले शुक्रबार कान्तिपुरसँग भनिन्, ‘पछि हामीले त्यो नम्बरमा सम्पर्क गर्न खोज्दा हुन सकेन ।’
पूजाका अनुसार, अमृत दुई वर्षअघि कामको सिलसिलामा दुबई गएका हुन् । उनी त्यहाँको ब्ल्याक सी मरिन एलएलसी कम्पनीको जहाजमा काम गर्थे । ‘पछिल्लो पटक १२ जनवरीमा भाइको फोन आएको थियो, त्यसबेला उसले म अहिले इरानमा छु, मेरो काम सकिन लाग्यो, त्यसपछि म सिधैं नेपाल आउँछु भनेको थियो,’ पूजाले थपिन्, ‘तर अचानक भाइ पक्राउ परेको भ्वाइस मेसेज पाएपछि हामीले उसको खोजी गरिदिन कन्सुलर विभागमा निवेदन दिएका छौं । मेरो भाइको यथाशीघ्र रिहाइका लागि पहल गरिदिन म नेपाल सरकारसँग अनुरोध गर्छु ।’ (इकान्तिपुरबाट)