पोखरेली कवि तथा साहित्यकार भिमादका पर्यटकीय गन्तव्यमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पोखरेली कवि तथा साहित्यकार भिमादका पर्यटकीय गन्तव्यमा

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०८२, शनिबार

    दमौली, ७ चैत । पोखरालाई मुख्य कार्यथलो बनाएका कवि तथा साहित्यकारहरूले आज तनहुँको भिमाद नगरपालिकाका पर्यटकीय गन्तव्यको स्थलगत अवलोकन भ्रमण गरेका छन् ।

    सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखरा एवम् भिमाद नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित ‘भिमाद क्षेत्रमा ऐतिहासिक तथा पर्यटकीय स्थलको अवलोकन तथा साहित्यिक कार्यक्रम’का क्रममा उनीहरूले यहाँका पर्यटकीय गन्तव्यको स्थलगत अवलोकनसँगै पर्यटकीय महत्व र सम्भावनाबारे जानकारी लिएका हुन् ।

    उक्त क्रममा उनीहलाई प्राकृतिक एवम् ऐतिहासिक महत्वको भिमाद नगरपालिका ९ स्थित सिद्ध गुफा, चमेरे गुफासँगै भिमबाँध, तीन सय वर्षभन्दा पुरानो शिवालय मन्दिर, ढोर मिनमखानीको फलाम खानीबाट निकालेर बनाइएको झोलुङ्गे पुलआदिबारे भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जानकारी गराए ।

    भिमाद क्षेत्रमा महत्वपूर्ण प्राकृतिक एवम् ऐतिहासिक महत्वकास्थल रहेको बताउँदै उनले नगरपालिकाले यी गन्तव्यको पर्यटकीय उपयोगलाई जोड दिएको उल्लेख गरे ।

    अवलोकनकै क्रममा सिद्ध गुफा क्षेत्रमा आयोजित साहित्यिक कार्यक्रममा कवि तथा साहित्यकारहरू सेतीकाली साहित्य सङ्गमका अध्यक्ष नारायण कैलाश सिग्देल, कृष्ण भण्डारी मुमुुक्षु, बसन्त चालिसे, चन्द्रावती वाग्ले, बेदहरि तिमल्सिना, कमल पौडेल(अथक), सिर्जना सापकोटा, शान्ति कँडेल, पुण्यप्रसाद भट्टराई, दिनानाथ पराजुली, नवराज न्यौपाने, गायत्री पराजुली, भिमबहादुर ज्यालादारी, डा विष्णुप्रसाद शर्मा, डा कृष्ण भण्डारी, डा भूमिराज बस्ताकोटी, विश्वबन्धु भण्डारीलगायतले विभिन्न विधाका रचना वाचन गरेका थिए ।

    कार्यक्रममा सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष सुरज पौडेलले प्रतिष्ठानले हरेक महिना विभिन्न पर्यटकीय गन्तव्यमा पुुगी साहित्यिक कार्यक्रमसँगै अनुसन्धानात्मक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे । प्रतिष्ठानका सदस्य एवम् कार्यक्रम संयोजक अम्बिकाप्रसाद भट्टराईले यस कार्यक्रमले भिमाद क्षेत्रका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको बताए ।