


दमाैली, ९ चैत । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीले जिल्लामा क्षयरोगी पहिचान गर्नु मुख्य चुनौती रहेको बताएका छन्। धेरै बिरामीहरू लुकेर बस्ने, परीक्षणमा नआउने तथा समयमै स्वास्थ्य संस्थामा नपुग्ने प्रवृत्तिका कारण क्षयरोग नियन्त्रणमा कठिनाइ भइरहेको उनकाे भनाइ छ ।
“क्षयरोग निको हुने रोग हो, तर समयमै पत्ता लगाउन नसक्दा जटिलता बढ्ने र अरूमा समेत सर्ने जोखिम हुन्छ,” प्रमुख दवाडीले भने, “त्यसैले लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा गएर परीक्षण गराउनुपर्छ।”
दवाडीले तनहुँका भानु नगरपालिका, व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाले क्षयरोग मुक्त पालिका बनाउने लक्ष्यसहित विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिए। ती पालिकाहरूमा सक्रिय रूपमा क्षयरोगी खोजपड्ताल, परीक्षण अभियान सञ्चालन गरिएको छ।
अभियान अन्तर्गत स्वास्थ्यकर्मीहरू घरदैलोमै पुगेर जोखिममा रहेका व्यक्तिहरूको पहिचान गर्ने, लक्षण देखिएकाहरूको नमुना संकलन गर्ने तथा परीक्षण गराउने कार्य भइरहेको छ। साथै, क्षयरोगको परीक्षण तथा उपचार पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइएको कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई दुई हप्ताभन्दा बढी खोकी लागेमा, तौल घट्दै गएमा, ज्वरो तथा राति पसिना आउने जस्ता लक्षण देखिए तुरुन्त परीक्षण गराउन आग्रह गरेको छ।
कार्यालयका अनुसार समुदायको सक्रिय सहभागिता, जनचेतना र समयमै परीक्षणले मात्र क्षयरोग नियन्त्रण तथा उन्मूलन सम्भव हुने विश्वास लिइएको छ।
