


दमौली, ९ चैत । सांसद महावीर पुन तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित तनहुँ मिमिक कृषि प्रालि पुग्दा त्यहाँको बंगुरपालन प्रणाली देखेर अचम्मित भएका छन्।
अवलोकनका क्रममा उनले भने, “यस्तो सफा बंगुर मैले देखेकै थिइँन, मैले भन्दा बढी नुहाउँदो रहेछ !” उनको यो भनाइले आधुनिक प्रविधि र सरसफाइमा आधारित कृषि अभ्यासप्रति उनको सकारात्मक प्रतिक्रिया झल्काउँछ।
करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त फार्ममा व्यवस्थित संरचना, नियमित सरसफाइ र स्वास्थ्य मापदण्डअनुसार बंगुर पालन गरिएको छ। आधुनिक शैलीमा सञ्चालन गरिएको यो फार्मले परम्परागत सोचलाई बदल्दै व्यावसायिक कृषि प्रणालीको नयाँ उदाहरण प्रस्तुत गरेको छ।