


दमौली, ९ चैत । तनहुँ समाज हङकङले दुई जना दीर्घ रोगबाट पीडित भएकालाई आर्थिक सहयोग गरेको छ । समाजले सोमबार दमौलीमा एक कार्यक्रमको आयोजना गरि उनीहरुको उपचारार्थ ४ लाख ५२ हजार ५ सय आर्थिक सहयोग गरेको हो ।
तनहुँको ऋषिङ गाउँपालिका-६ निवासी दुबै मृगौला फेल भएकी ३५ वर्षीया कुमारी आलेलाई समाजले सहयोग गरेको हो ।
त्यस्तै म्याग्दे गाउँपालिका-५ निवासी फोक्सोको क्यान्सर भएका ४९ बर्षीय प्रेम बहादुर थापालाई पनि समाजले आर्थिक सहयोग गरेको हो ।
समाजका पूर्व अध्यक्ष भीमराज गुरुङ र नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले संयुक्त रुपमा सहयोग रकम पीडितहरुलाई हस्तान्तरण गरेका हुन् ।
उनीहरुलाई जनही रु २ लाख २६ हजार २ सय ५० प्रदान गरिएको गुरुङले जानकारी दिए ।कुमारी आलेलाई सहयोग रकम समाजका सल्लाहकार लालबहादुर थापाको संयोजकत्वमामा संकलन गरिएको हो भने प्रेमबहादुरको सहयोग रकम प्रवक्ता बिपिन थापा मगर मार्फत संकलन गरिएको हो ।