तनहुँमा एक सय ८३ क्षयरोगी उपचारको दायरामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा एक सय ८३ क्षयरोगी उपचारको दायरामा

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०८२, सोमबार

    दमौली, ९ चैत । तनहुँमा चालु आर्थिक वर्षमा एक सय ८३ जना क्षयरोगका बिरामी उपचारको दायरमा आएका छन् । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा जिल्लामा एक सय ८३ क्षयरोगका बिरामी भेटिएका हुन् ।

    प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कंडेलका अनुसार जिल्लाका दशवटै स्थानीय तहमा क्षयरोगका बिरामी भेटिएका छन् ।

    गत आर्थिक वर्ष २०८१÷८२ मा जिल्लामा तीन सय १८ क्षयरोगका बिरामी भेटिएका थिए । त्यसमध्ये १३ जनाको मृत्यु भएको कंडेलले जानकारी दिए । उनका अनुसार नियमित औषधि सेवन गर्दा निको हुने दर ९१ प्रतिशत रहेको छ ।

    आर्थिक वर्ष २०८०÷८१ मा जिल्लामा तीन सय २५ क्षयरोगी भेटिएका थिए । त्यस्तै आर्थिक वर्ष २०७९÷८० मा दुई सय ८५ क्षयरोगका बिरामी रहेको थिए ।

    जिल्लास्थित एक सय ११ स्वास्थ्य संस्थाबाट क्षयरोगीको उपचार हुने गरेको छ । कंडेलका अनुसार १४ स्वास्थ्य संस्थामार्फत् क्षयरोग पहिचानका लागि खकार परीक्षणको व्यवस्था मिलाइएको छ ।

    क्षयरोग नियन्त्रणका लागि जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क
    औषधि पाइन्छ । नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण भएको प्रदेश अस्पताल तनहुँका प्रमुख अमर दवाडीले बताए।

    छ महिनासम्म नियमित औषधि सेवन गरे क्षयरोग निको हुने भएपनि क्षयरोगी पहिचान हुन नसक्दा सफल उपचार दर वृद्धि हुन नसकेको उनले बताए । उनले अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको उल्लेख गरे ।

    “उपचारमा नरहेको एक क्षयरोगीले औसतमा १० देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ,” उनले भने, “सो तथ्याङ्कलाई घटाउन पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।”

    जिल्लास्थित व्यास नगरपालिका, भानु नगरपालिका र म्याग्दे गाउँपालिकाले क्षयरोगमुक्त पालिका बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । त्यसका लागि सक्रिय खोजपड्ताल, निःशुल्क परीक्षणको कार्यक्रमलाई अगाडी बढाइएको छ ।

    कार्यालयले चालु आर्थिक वर्षमा विभिन्न स्थानीय तहमा पुगेर तीन हजार छ सय ३१ जनामा स्क्रिनिङ गर्दा ५५ जना क्षयरोगी पत्ता लागेका थिए ।