


दमौली, १० चैत । म्याग्दे गाउँपालिका-७ स्थित अर्चले माझिलाङ भावर खानेपानी आयोजनामा जडान गरिएको तामाको तार पुनः चोरी भएको छ। वडाध्यक्ष बसन्त श्रेष्ठका अनुसार यो चोरीसँगै सो तार चौथो पटक हराएको हो।
स्थानीयवासीको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको खानेपानी जस्तो संवेदनशील क्षेत्रमा पटक–पटक हुने यस्तो घटना अत्यन्तै दुःखद र निन्दनीय भएको वडाध्यक्ष श्रेष्ठले बताएका छन्। उनले भने, “अमानवियताको हद पार गर्दै यस्तो बेइमानी दोहोरिनु समाजका लागि चिन्ताजनक संकेत हो।”
तामाको तार चोरी हुँदा खानेपानी आपूर्तिमा अवरोध आउने गरेको छ भने मर्मत तथा पुनःस्थापनामा थप आर्थिक भार पनि पर्ने गरेको छ। यसले स्थानीय बासिन्दालाई प्रत्यक्ष असर पुर्याएको छ।
