


दमौली, १० चैत । तनहुँमा क्षयरोगबाट १३ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा जिल्लामा १३ जनाको क्षयरोगबाट मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
त्यस अवधिमा तीन सय १८ जना क्षयरोगका बिरामी रहेका थिए । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कंडेलका अनुसार त्यसमध्ये ६८ प्रतिशत पुरुष र ३२ प्रतिशत महिला रहेका छन् । जिल्लाका पालिकामध्ये व्यास नगरपालिकामा सबैभन्दा बढी ८० र सबैभन्दा कम भिमादमा १२ क्षयरोगका बिरामी भेटिएका थिए । चालु आर्थिक वर्षमा भने जिल्लामा एक सय ८३ बिरामी भेटिएका छन् ।
क्षयरोग नियन्त्रणका लागि जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क औषधि पाइन्छ । नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण भएको प्रदेश अस्पताल तनहुँका प्रमुख अमर दवाडीले बताए।
छ महिनासम्म नियमित औषधि सेवन गरे क्षयरोग निको हुने भएपनि क्षयरोगी पहिचान हुन नसक्दा सफल उपचार दर वृद्धि हुन नसकेको उनले बताए ।