


दमौली, १३ चैत । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री र तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बनेपछि तनहुँमा दीप प्रज्ज्वलन गरिएको छ । रास्वपा व्यास नगरपालिका–२ वडा समितिले शुक्रबार साँझ व्यास नगरपालिका–३ प्रशासनचोकमा दीप प्रज्ज्वलन गरेको हो ।
दीप प्रज्ज्वलनपश्चात् रास्वपा व्यास नगर सभापति चुडामणि दाहालले नेपाल स्वर्णिम युगमा प्रवेश गरेको बताउँदै वर्तमान सरकारले जनभावना अनुसार काम गर्नुपर्ने बताए। दाहालले जेनजी आन्दोलनको जगमा बनेको यो सरकारलाई असफल हुने छुट नरहेको चर्चा गर्दै जनताले सहज रुपमा सेवा पाउने वातावरण बन्नुपर्ने बताए।
अब विचौलियामार्फत् काम गर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै दाहालले देशमै रोजगारीको सिर्जना हुनेछ भन्नेमा आफूहरु विश्वस्त रहेको बताए ।
रास्वपा म्याग्दे सभापति मनोज अधिकारीले देशले नयाँ निकास पाएको बताउँदै नयाँ नेपालको भाग्य कोर्ने अवसर वर्तमान सरकारलाई आएको बताए। नेपाली जनताको हितमा सरकारले काम गर्नुपर्ने बताउँदै उहाँले खुट्टा नकमाइ अगाडी बढ्न आग्रह गरे। “हामीलाई बिग्रने छुट छैन, जनता धेरै थाकिसकेका छन्, नेपाली जनताले ठूलो आश गरेर रास्वपालाई करिब दुई तिहाइ मत दिएका छन्,” उनले भने ।
कार्यक्रममा रास्वपा व्यास नगर काेषाध्यक्ष अन्जु दाहाल, व्यास-२ का सभापति महेन्द्र रिजालले बाेलेका थिए ।