


दमाैली, १५ चैत । पालिकावासीको मागमा आधारित योजनालाई नै प्राथमिकतामा राखेर आफूहरु बजेट निर्माणमा जुट्दै आएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताएका छन् । नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आयोजना र देवघाट गाउँपालिकाको सहयोगमा देवघाट गाउँपालिका २ नम्बर वडा कार्यालय व्यागनमा आईतबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै पालिका अध्यक्ष थापाले विनियोजित कार्यक्रमलाई प्रभावकारी र पारदर्शी तवरले कार्यान्वयन गर्न सेवाग्राही र कर्मचारीको समन्वय अपरिहार्य रहेको बताए।
आफूहरुलाई पालिकावासीले प्रतिनिधिको रुपमा काम गर्न पठाएकोले जुन सुकै समयमा पनि जनताको सेवामा खटिनु आफूहरुको कर्तव्य र जिम्मेवारी भएको समेत अध्यक्ष थापाको भनाई छ । ‘देवघाट गाउँपालिकालाई समृद्ध बनाउन सबै पालिकावासीको साथ र सहयोग अपरिहार्य छ,’ अध्यक्ष थापाले भने, ‘देवघाटलाई धार्मिक, पर्यटन र कृषि क्षेत्रमा नमुना कसरी बनाउन सकिन्छ भन्नेमा हामी खटिदै आएका छौं ।’
कर्मचारीले आफूहरु शासक नभई सेवक हौं भन्ने भावनाका साथ काममा खटिन निर्देशन गरिएको देवघाट गाउँपाकिाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले बताए। कृषि, पर्यटन, पूर्वाधार, शिक्षा लगायतको क्षेत्रमा विनियोजित रकमको कार्यप्रगति प्रभावकारी रहेपनि आन्तरिक राजश्व न्युन संकलन हुँदा त्यसले पालिकाको कार्यक्रममा प्रभाव पारेको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए ।
देवघाट गाउँपालिका वडा नं. २, ५ र गाउँपालिकाको समग्र विकास निर्माण, सेवा प्रवाहको बारेमा १ सय जनालाई गरिएको सर्वेक्षणमा करिव ८२ जनाले देवघाट गाउँपालिकाको सेवा प्रवाहबाट पूर्ण रुपमा सन्तुष्ट रहेको र बाँकी १८ जनाले सेवा प्रवाह ठिकै रहेको प्रतिक्रिया दिएका थिए ।
६४ जना पुरुष र ३६ जना महिला गरी १ सय जना सेवाग्राहीलाई सर्वेक्षण गरिएको थियो । सेवा बारे सर्वेक्षण नेपाल पत्रकार महासंघ अध्यक्ष डिपि अधिकारी र पत्रकार पूर्ण विकेले गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सिम्लेक टोल विकास संस्थाका अध्यक्ष तिलबहादुर मगर, जुद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक गमबहादुर थापा र सेवाग्राही पृथ्वीबहादुर थापा लगायतका सेवाग्राहीले प्रविधियुक्त शिक्षा, प्रभावकारी पशुपालन प्रविधि लगायतको बारेमा जिज्ञासा राखेका थिए ।
सेवाग्रहीको प्रश्नमा शिक्षा अधिकृत होमनाथ लामिछाने, पशु तथा मत्स्य विकास शाखाका अधिकृत प्रदिप सापकोटा लगायतले पालिकावासीलाई अधिकतम हित पुग्ने गरी र आधुनिक प्रविधिलाई अंगाल्दै आफूहरुले सेवा दिन प्रतिवद्ध रहेको बताए।
पालिकाका कार्यक्रम समन्वय शाखाका अधिकृत कृष्णराज पन्तले सहभागी सेवाग्राहीको जिज्ञासाबारे टिपोर्ट गरेका थिए ।
कार्यक्रममा पालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष पूर्णवहादुर कुँवर, देवघाट १ का अध्यक्ष मनिराज गुरुङ, देवघाट २ का अध्यक्ष मिनबहादुर राना, देवघाट ३ का अध्यक्ष टेकबहादुर आले र देवघाट ४ का अध्यक्ष मित्रलाल गुरुङ, कार्यपालिका र गाउँ सभा सदस्यहरुको समेत उपस्थिती रहेको थियो । करिव १ सय जना सहभागी कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भूवनसिं गुरुङले सार्वजनिक सुनुवाईमा सक्रिय सहभागिताको लागि धन्यवाद ज्ञापन र कार्यक्रमको संचालन पत्रकार महासंघ अध्यक्ष अधिकारीले गरेका थिए ।