


दुलेगौंडा, १७ चैत । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको पाँचौ शुक्लागण्डकी महोत्सव मंगलवार सकिएको छ । चैत ६ गते शुरु महोत्सवको राष्ट्रिय सभा सदस्य जगत तिमिल्सीनाले समापन गरे ।
सो अवसरमा राष्ट्रिय सभा सदस्य तिमिल्सीनाले शुक्लागण्डकी आर्थिक सम्भावानायुक्त नगर भएको बताउदै तीनै तहको सरकार मिलेर यस क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए । उनले बेलचौतारामा रहेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रलाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्ने उल्लेख गरे ।
शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले विगतमा भएका कमिकमजोरीलाई सुधार गर्दै आगामी दिनमा सच्चिदै अगाडी बढ्नुपर्नेमा जोड दिए ।
संघका अध्यक्ष एवम् मुल संयोजक समुन्द्रराम श्रेष्ठले सबैको साथ र सहयोगले महोत्सव सफल भएको बताउदै सबैलाई धन्यवाद दिए । कार्यक्रमको सञ्चालन संघका महासचिव सुजन श्रेष्ठले गरेका थिए ।
आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ भएको महोत्सवमा राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतीसँगै लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको थियो ।
महोत्सवको क्रममा आएका कलाकारहरु नगर छिमेकी पालिकामा रहेका पर्यटकीय र धार्मिक क्षेत्रमा पुगेर त्यस क्षेत्रको प्रचार प्रसार गरेका थिए । साथै पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता सम्पन्न भए । भलिबलतर्फको उपाधी बौद्धिकालीले जिेतेको छ ।
यस्तै रत्यौलि प्रतियोगितामा सिद्दार्थ आमा समूह शुक्लागण्डकी–३ प्रथम भएको छ । उन्नतिशिल आमा समूह शुक्लागण्डकी–४ द्धितीय, लायन्स क्लब अफ तनहु शुक्लागण्डकी सिस्टर तृतीय र नवज्योति आमा समूह शुनपा–२ सान्त्वना भए ।
विद्यालय स्तरिय नृत्य प्रतियोगितातर्फ अरनिको माध्यमिक विद्यालय शुनपा–७ प्रथम भयो । अरनिको पब्लिक स्कुल शुनपा–६ द्धितीय, सुर्योदय बोर्डिङ स्कुल शुनपा–६ तृतीय भए । यसैगरी माउन्ट ई. बो. स्कुल शुनपा–६ सुर्योदय बोर्डिङ स्कुल शुनपा–६ सान्त्वना भए । महोत्सव उद्घाटनको अवसरमा निकालिएको ¥यालीमा खैरेनीटार तमु समाज उत्कृष्ट घोषित भयो । उनीहरुलाई समापनका अवसरमा पुरस्कार प्रदान गरिएको थियो ।
महिला उद्यमी विकास समिति र सम्पूर्ण वडा व्यवस्थापन समिति को सह–आयोजनामा महोत्सव भएको हो । महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था, सुचना केन्द्र, स्वास्थ्य शिविर लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको थियो ।