चैत २० गते व्यास नगरपालिकाको सार्वजनिक सुनुवाइ हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    चैत २० गते व्यास नगरपालिकाको सार्वजनिक सुनुवाइ हुने

    खबरपुञ्ज संवाददाता

    १७ चैत्र २०८२, बुधबार

    दमौली, १८ चैत । व्यास नगरपालिकाले आफ्नो सेवा प्रवाह, विकास निर्माण र नीति कार्यान्वयनको अवस्थाबारे नागरिकलाई जानकारी गराउने उद्धेश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ । चैत २० गते शुक्रबार बिहान ११ बजे व्यास नगरपालिका–७ कलेस्तीस्थित वडा कार्यालय भवनमा उक्त कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

    नेपाल पत्रकार महासंघ तनहुँ शाखाको समन्वयमा आयोजना हुने सार्वजनिक सुनुवाइमा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय, नागरिक समाज, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहनेछ ।

    व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ का लागि पारित बजेट, नीति तथा कार्यक्रमहरूको कार्यान्वयन अवस्थाबारे चौमासिक अवधिमा भएका प्रगतिको समिक्षा गरिनेछ । विकास निर्माणका योजना, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा भएका कामहरूको विस्तृत विवरण प्रस्तुत गरिने उनले बताए ।

    सुनुवाइ कार्यक्रममा सेवाग्राहीहरूले प्रत्यक्ष रूपमा आफ्ना गुनासा, जिज्ञासा तथा सुझाव राख्न सक्ने व्यवस्था मिलाइएको छ । प्राप्त सुझाव र गुनासालाई आगामी योजना निर्माण तथा सेवा सुधारमा समेट्ने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।

    कार्यक्रममा राजश्व संकलनको अवस्था, बजेट खर्चको पारदर्शिता, सेवा प्रवाहमा देखिएका समस्या तथा सुधारका पहलहरूबारे छलफल एवं अन्तरक्रिया हुनेछ । नागरिकको प्रत्यक्ष सहभागितामार्फत स्थानीय सरकारलाई थप उत्तरदायी र पारदर्शी बनाउने लक्ष्यसहित यस्तो कार्यक्रम आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत लम्सालले सार्वजनिक सुनुवाइलाई प्रभावकारी बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै नागरिकलाई कार्यक्रममा उपस्थित भई आफ्नो सुझाव राख्न आग्रह गरे । उनले भने, “सार्वजनिक सुनुवाइले स्थानीय सरकार र नागरिकबीचको दूरी घटाउने, विश्वास बढाउने र सेवा प्रवाहलाई अझ गुणस्तरीय बनाउने महत्वपूर्ण माध्यमका रूपमा काम गर्छ ।”

    व्यास नगरपालिकाले विगत वर्षहरूमा पनि नियमित रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्दै आएको र त्यसबाट प्राप्त सुझावका आधारमा विभिन्न क्षेत्रमा सुधारका प्रयासहरू अघि बढाइएको जनाएको छ ।