प्रहरीले नै मनायो अप्रिल फूल !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रहरीले नै मनायो अप्रिल फूल !

    खबरपुञ्ज संवाददाता

    १७ चैत्र २०८२, बुधबार

    काठमाडौं, १८ चैत । आज अप्रिल १ तारिख । विश्वभर आजको दिनलाई ‘अप्रिल फुल’ अर्थात् मानिसलाई झुक्याउने दिनका रूपमा मनाउने गरिन्छ । नेपालमा पनि आजको दिन विभिन्न बहाना बनाएर एक–अर्कालाई मुर्ख बनाउने चलन छ ।

    सामान्यतया सर्वसाधारणले मात्रै ‘अप्रिल फुल’ मनाउने गरेको देखिन्थ्यो । तर यसपटक भने नेपाल प्रहरीले पनि फरक शैलीमा अप्रिल फुल मनाएको छ । नेपाल प्रहरीको २ मिलियनभन्दा बढी फलोअर्स भएको फेसबुक पेजमा आज एउटा क्यूआर कोडसहितको स्टाटस पोस्ट गरिएको थियो ।

    उक्त पोस्टमा ‘तपाईं विरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ? सुनिश्चित गर्न एक पटक क्यूआर कोड स्क्यान गर्नुहोस् ।’ भनेर लेखिएको थियो । तल क्यूआर कोड पनि राखिएको थियो । धेरै फेसबुक प्रयोगकर्ताले यसलाई गम्भीर रूपमा लिँदै धमाधम स्क्यान गरे ।

    तर क्यूआर कोड स्क्यान गर्दा कुनै उजुरी वा सूचना नभई ‘अप्रिल फुल’ सन्देश देखिएपछि प्रयोगकर्ताले आफू झुक्किएको महसुस गरे ।

    त्यसपछि देखिएको सन्देशमा लेखिएको थियोः

    “APRIL FOOL
    तपाईंले स्क्यान गर्नुभएको QR CODE सचेतना अभियानका लागि हो ।
    आज हामीले मजाक गरेका थियौं… तर भोलि यस्तै QR बाट तपाईं
    SCAM मा पनि पर्न सक्नुहुन्छ ।

    याद राख्नुहोस्—
    अपरिचित व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त QR CODE स्क्यान नगर्नुहोस् ।
    आफूसँगै परिवारका सदस्यलाई पनि सचेत गराउनुहोस् ।
    Scan गर्नु अघि सधैं Verify गर्नुहोस् । सचेत हुनुहोस्, सुरक्षित रहनुहोस् ।”

    प्रहरीको यो शैलीलाई धेरैले नयाँ र सिर्जनात्मक भन्दै प्रशंसा गरेका छन् भने केहीले आफू अप्रिल फुल बनेको भन्दै व्यंग्यसमेत गरेका छन् । खासमा प्रहरीले  स्क्याममा नपर्न चेतनामूलक सन्देश दिएकाे हाे । (नेपाल प्रेसबाट)