


दमौली, १९ चैत । शैक्षिक सत्र २०८२ अन्त्यतिर पुग्दै गर्दा नयाँ सत्र २०८३ सुरु हुन लागेकै अवस्थामा गाउँ तथा पहाडी क्षेत्रका विद्यालयहरू विद्यार्थी अभावका कारण बन्द हुने सम्भावनाबारे चिन्ता व्यक्त गरिएको छ।
तनहुँको भानु नगरपालिका–४ निवासी विद्यानाथ ढकालले एक ध्यानाकर्षण पत्र जारी गर्दै विद्यार्थी संख्या घट्दै गएको कारण देखाउँदै विद्यालयहरू गाभ्ने (मर्ज गर्ने) नाममा बन्द गरिनु समस्या समाधानको दीर्घकालीन उपाय नभएको बताएका छन्। उनले यस्तो निर्णयले कतिपय बालबालिका विद्यालयको पहुँचबाट बाहिर पर्ने खतरा रहेको उल्लेख गरेका छन्।
ढकालले संघ, प्रदेश र स्थानीय सरकारका साथै सम्बन्धित निकाय र सरोकारवालाहरूलाई यस विषयमा गम्भीर ध्यान दिन आग्रह गरेका छन्। उनले वैकल्पिक व्यवस्थासहित कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपर्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
