


दमाैली, १९ चैत । तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको आँखा परीक्षण शिविरअन्तर्गत एक हजार पाँच सय जनाको परीक्षण गरिएको छ । त्यस्तै मोतियाविन्दुको समस्या देखिएका एक सय १० जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
आइतबारदेखि सुरु भइ बुधबार सकिएको शिविर अन्तर्गत भानु नगरपालिका–१३, भानु नगरपालिका–९, भानु नगरपालिका–१ र भानु नगरपालिका–३ मा आँखा शिविर गरिएको थियो ।
आँखा सम्बन्धी समस्या भएका सर्वसाधारणलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट मोतियाविन्दुका समस्या देखिएका एक सय १० जनाको बुधबार शल्यक्रिया गरिएको हो । आर्थिक अभावका कारण उपचारबाट वञ्चित स्थानीयवासीका लागि शिविरले राहत गरेको बताइएको छ ।
भानु नगरपालिका–२ नारेश्वटारस्थित भानु सामुदायिक स्वास्थ्य केन्द्रमा समस्या भएकाहरुको शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए।

भानु नगरपालिका र नेपाल नेत्रज्योति सङ्घ भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शल्यक्रिया गरिएको हो । नेत्र विशेषज्ञ डा. मारिया गौतम सहितको टोलीले आँखाको शल्यक्रिया गरेका थिए ।
भट्टराईका अनुसार आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई लक्षित गर्दै प्रत्येक वर्ष शिविर सञ्चालन गरिएको छ । उनले भने “आँखा जस्तो संवेदनशील अङ्गको उपचार समयमै हुन सकेन भने मानिसको जीवनस्तरमा प्रत्यक्ष असर पर्छ । भानु नगरपालिकाले यही कुरालाई ध्यानमा राख्दै प्रत्येक वर्ष निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि उल्लेख्य सङ्ख्यामा बिरामीहरूले सेवा लिनु भएको छ ।”
आँखा परीक्षणका लागि सदरमुकाम दमौली, पोखरा वा चितवन जानुपर्ने बाध्यताको अन्त्यका लागि नगरपालिकाले स्थानीय स्तरमै शिविर गरी शल्यक्रिया सेवा प्रदान गरेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।
“स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । त्यसैले टाढा–टाढा धाउनुपर्ने अवस्थाको अन्त्य गर्न हामीले आफ्नै नगरभित्र विशेषज्ञ सेवा ल्याएका हौँ,” प्रमुख त्रिपाठीले भने, “यसले विशेषगरी आर्थिक रूपमा कमजोर तथा ज्येष्ठ नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।”