


दमौली, १९ चैत । व्यास नगरपालिका-१३ बेनीकोटस्थित बेनीमित्र प्राथमिक विद्यालयमा विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा आगामी कार्ययोजना तय गर्न बृहत् आमभेला सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेख बहादुर थापाको अध्यक्षतामा भएको उक्त भेलाले विद्यालयलाई मजबुत बनाउन शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।

भेलामा बोल्दै अध्यक्ष थापाले पहिले र अहिलेको शैक्षिक वातावरण भिन्न रहेको चर्चा गर्दै सानो उमेरमै कक्षा चढ्ने तर सिकाइमा अपरिपक्व रहने समस्याले विद्यार्थीको भविष्यमा दीर्घकालीन असर पार्ने बताए।
विद्यालयका प्रधानाध्यापक किशोर सुनामले आगामी शैक्षिक सत्र २०८३ को कार्ययोजना प्रस्तुत गर्दै निजी शिक्षक व्यवस्थापन र आर्थिक स्रोत जुटाउन ‘एक घर, एक क्रेट सुन्तला’ को नयाँ अवधारणा अघि सारे। यस अभियान अन्तर्गत प्रत्येक घरधुरीले सुन्तलाको एक क्रेट बराबर हुन आउने करिब १२०० रुपैयाँ विद्यालयलाई आर्थिक सहयोग गर्ने निर्णय भएको छ।
भेलामा अभिभावक यम आलेले ग्रामीण भेगमा अभिभावकहरू काममा व्यस्त हुँदा बालबालिकालाई भुलाउन मोबाइल सुम्पने प्रवृत्तिले पढाइमा गम्भीर असर पुगेको भन्दै चिन्ता व्यक्त गरे ।
त्यस्तै शान्ति टोलका अध्यक्ष सिर बहादुर थापाले शिक्षकहरू घरदैलो पुगेर समुदायसँग नजिक हुनुपर्ने र अभिभावकले पनि विद्यालयमै आएर आफ्ना सन्तानको निगरानी गर्नुपर्ने सुझाव दिए । विद्यालयको हितका लागि भेलामा आर्थिक सहयोगको प्रतिबद्धता समेत जुटेको छ।
सिद्ध बाबा युवा क्लबका अध्यक्ष मनिष थापा र अभिभावक मीन बहादुर थापाले जनही ५ हजार रुपैयाँ हस्तान्तरण गर्ने घोषणा गरेका छन् भने बेनीकोट सामुदायिक वनले विद्यालयलाई वार्षिक ३० हजार रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ।