पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०८२, बिहीबार

    काठमाडाै, १९ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको हो।

    नयाँ मूल्यसूची बुधबार राति १२ बजेपछि लागू हुनेछ। निगमले मध्यपूर्वमा जारी युद्धका कारण अस्वाभाविक मूल्य बढाउनु परेको बताएको छ।

    युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य निकै उच्च रहेकाले स्वचालित प्रणालीअनुसार मात्र मूल्य समायोजन गर्न नसकिएको निगमले प्रष्ट पारेको छ।

    घाटा चुलिँदा आईओसीलाई तोकिएको समयमै भुक्तानी दिन नसक्ने र त्यसले इन्धनको आपूर्ति शृङ्खला नै प्रभावित हुने जोखिम बढेपछि बाध्य भएर मूल्य बढाउनुपरेको निगमले दाबी गरेको छ।

    मार्च १६ र ३१ मा आईओसीबाट प्राप्त मूल्यअनुसार निगमलाई पाक्षिक १३ अर्ब २१ करोड रुपैयाँ घाटा पुगेको थियो। उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य स्थिरिकरण कोषको रकम समेत उपयोग गरेर प्रतिलिटर १५ रुपैयाँ मात्र बढाइएको निगमले जनाएको छ।

    यद्यपि, यो मूल्य समायोजनपछि पनि निगम नाफामा भने छैन। १५ रुपैयाँ बढाउँदा पनि निगमलाई अझै पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ३६ पैसा, डिजेलमा १२० रुपैयाँ ५४ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा नै रहेको निगमले बताएको छ।

    May be an image of blueprint and text
    पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो