


पर्सा, २० चैत । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा अगाडि बढाएको बताएका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्वबजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री वालेन्द्र शाहले निर्देश गरेको गतिअनुसार सुधारको काम अघि बढिरहेको बताए ।
“प्रधानमन्त्रीले एउटा गति सेट गरिदिनुभएको छ । त्यस रफ्तारमा काम हुन थालेको छ । सिङ्गो सङ्घीय सरकार त्यो रफ्तारलाई पछ्याइरहेको छ”, उनले भने, ‘‘हाल मन्त्रालयबीच नै कसले तीव्र रफ्तारमा काम गर्ने भनेर होडबाजी नै चलेको छ । राम्रो काम गर्नका लागि एउटा मन्त्रालयको गतिलाई अर्को मन्त्रालयको गतिले उछिन्ने काम पनि भइरहेको छ ।’’
उनले आफूले अर्थमन्त्रीमा बहाल भएको दिनदेखि नै उद्योगी-व्यवसायीलाई सकारात्मक सन्देश दिने प्रयत्न गरेको बताए ।
“यहाँका उद्योगी-व्यवसायीहरूले वर्षौदेखि हैरानी भएको गुनासो छ । सोही गुनासोलाई पहिलो दिनदेखि सम्बोधन गर्ने प्रयास गर्दै आइरहेका छौँ ।’’ उनले भने ।
