


दमौली, २२ चैत । तनहुँका विभिन्न ठाउँमा सञ्चालित क्रसर उद्योगको आइतबार स्थलगत अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा व्यास नगरपालिका, ऋषिङ गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा सञ्चालित क्रसर उद्योगको अनुगमन गरिएको हो ।
अनुगमन टोलीले ऋषिङ गाउँपालिका–१ झापुटारस्थित माता पाथीभारा, व्यास नगरपालिका–१३ बेलबासस्थित छाब्दीवाराही क्रसर उद्योग, आँबुखैरेनी गाउँपालिका–१ स्थित गजुरमुखी निर्माण कम्पनी र राजेन्द्र मिश्र समेत, आँबुखैरेनी गाउँपालिका–३ स्थित एसजी रोडा उद्योगको अनुगमन गरिएको छ ।



निर्माण सामग्रीको भण्डारण, विभिन्न आयोजनालाई हस्तान्तरण, पालिकाले दिएका सम्झौता अनुमति विषयका गुनासो आएको हुनाले ती क्रसर उद्योगको अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए ।
ती उद्योगहरुको विद्युत लाइन कटौती गरी तीन दिनभित्र आवश्यक कागजात सहित प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको छ । आन्तरिक राजश्व कार्यालयका कर अधिकृत सहितको टोलीले ती उद्योगहरुबाट थप अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिएको छ ।

प्रजिअ तिवारीले भने, “केही क्रसर उद्योग अवैध रुपमा सञ्चालन भइरहेका छन् भन्ने गुनासो आएकाले के कसरी सञ्चालन भएका छन । सञ्चालन अनुमति छ की छैन भन्ने सन्दर्भमा अनुगमन गरिएको हो । केही क्रसर उद्योगमा बेथिती पनि पायौ । सबैलाई तीन दिनभित्र आवश्यक कागजात सहित उपस्थित हुन निर्देशन दिइएको छ ।”
प्रजिअ तिवारीले अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको भए चाँडै त्यसलाई वैध गर्न आग्रह गरेका छन् । उनले जिल्ला समन्वय समिति र सम्बन्धित पालिकालाई अनुमति लिए नलिएको बारेमा अनुगमन गरिदिन आग्रह गरेका छन् ।
प्रजिअ तिवारीका अनुसार क्रसर उद्योगको बारेमा जिल्ला समन्वय समिति तनहुँलाई अनुगमन गर्न र अवस्था बुझ्न बैठक पनि बसिएको थियो ।
अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक टेकबहादुर कार्की, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख मनोज ढकाल, आन्तरिक राजश्व कार्यालयका कर अधिकृत अर्जुन पौडेल, जिल्ला समन्वय समिति तनहुँका इन्जिनियर लगायत सहभागी थिए।