प्रथम टाइगरल्याण्ड दमौली महोत्सव हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रथम टाइगरल्याण्ड दमौली महोत्सव हुने

    खबरपुञ्ज संवाददाता

    २२ चैत्र २०८२, सोमबार

    दमौली, २३ चैत । तनहुँको व्यास नगरपालिका–४ मा चैत २६ गतेदेखि वैशाख ७ गतेसम्म प्रथम ‘टाइगरल्याण्ड दमौली महोत्सव एवं नयाँ वर्ष रमाइलो मेला’ आयोजना हुने भएको छ। टाइगरल्याण्ड युवा क्लबको आयोजनामा तथा जुडीपानी टोल विकास संस्थाको सहआयोजनामा मेला सञ्चालन हुन लागेको हो।

    क्लबका अध्यक्ष विपिन घलेका अनुसार नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै युवाहरुलाई स्थानीय स्तरमै मनोरञ्जन, भेटघाट र सांस्कृतिक आदान–प्रदानको अवसर प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो। “युवाहरु बाहिर जाने प्रवृत्ति बढ्दो छ, त्यसलाई मध्यनजर गर्दै आफ्नै ठाउँमा रमाइलो गर्ने वातावरण सिर्जना गर्न खोजिएको हो,” उनले भने।

    क्लबका सचिव उमेश पौडेलले मेलाको तयारी तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिए। उनका अनुसार हालसम्म करिब ६० प्रतिशत तयारी सम्पन्न भइसकेको छ भने स्टल निर्माण कार्य लगभग सकिएको छ। रमाइलो मेलाका लागि आवश्यक खेल सामग्री, बालबालिकाका मनोरञ्जनका साधन तथा अन्य संरचना स्थलमै ल्याइसकिएको छ।

    उनका अनुसार मेलामा करिब १०० वटा स्टल रहनेछन्। ती स्टलहरूमा स्थानीय उत्पादन, खाना तथा पेय पदार्थ, हस्तकला सामग्री, व्यापारिक प्रदर्शनी तथा विभिन्न सेवामूलक सामग्री राखिनेछ। साथै, स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति, नृत्य, गीत–संगीत, प्रतियोगितात्मक कार्यक्रम र मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिने योजना रहेको छ।

    मेलामा करिब १० हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ। विशेषगरी नयाँ वर्षको अवसर पारेर परिवार, युवा तथा बालबालिकालाई लक्षित गर्दै विविध कार्यक्रमहरू समावेश गरिनेछ।

    यसैगरी, मेलाबाट संकलित आम्दानी सामाजिक कार्यमा खर्च गरिने आयोजकले जनाएको छ। चुरेखोल्सीस्थित खेलमैदानको स्तरोन्नति, सामुदायिक विकास तथा युवामुखी कार्यक्रमहरू सञ्चालनमा आम्दानी प्रयोग गरिने योजना रहेको छ।

    महाेत्सव सञ्चालनका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने करिब ५० लाख रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएको छ। आयोजकले अपेक्षा गरेअनुसार दर्शकको उपस्थिति भएमा लक्ष्यभन्दा बढी आम्दानी हुन सक्ने विश्वास व्यक्त गरेका छन्।