


दमौली, २४ चैत । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकारलाई भिडियो खिच्न रोक लगाइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा र जिल्ला प्रशासन कार्यालय तनहुँसँगको सहकार्यमा शुसासनका लागि नागरिक समाज (ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल आवद्ध संस्था) कास्कीद्वारा मंगलबार दमौलीस्थित व्यास नगरपालिकाको सभाहलमा “भ्रष्टाचार विरुद्धको सहकार्य” नाराका साथ आयोजित सुशासन कार्यशाला गोष्ठीका क्रममा उक्त घटना भएको हो।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख/सहसचिव नारायणप्रसाद रेग्मीले सार्वजनिक धारणा राख्दै गर्दा तस्बिर तथा भिडियो खिचिरहेका पत्रकारलाई एक्कासी भिडियो नखिच्न भनिएको महासंघले जनाएको छ।
शाखा अध्यक्ष डिपी अधिकारी र सचिव कृष्ण न्यौपानेद्वारा जारी विज्ञप्तीमा सार्वजनिक कार्यक्रममा निमन्त्रणा गरिएका पत्रकारलाई फोटो तथा भिडियो खिच्न रोक लगाउनु प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप भएको ठहर गरेको छ।
लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र प्रेसको भूमिका महत्वपूर्ण रहने सन्दर्भमा जिम्मेवार निकायका उच्च अधिकारीबाट गरिएको यस्तो कार्य निन्दनीय र अस्वीकार्य रहेको महासंघले उल्लेख गरेको छ।
घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै महासंघले यस्ता गतिविधि तत्काल बन्द गर्न तथा आगामी दिनमा प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न जोडदार माग गरेको छ।