


दमाैली, २५ चैत । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायमका लागि सेना सदैव प्रतिबद्ध रहेको बताएका छन् ।
तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनी अड्डामा बुधबार आयोजित भूपू सम्मेलनलाई सम्बोधन गर्दै सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न इतिहासदेखि नै अतुलनीय योगदान पु¥याउँदै आएको बताए ।
प्रधानसेनापती सिग्देलले नेपाली सेनाले आफ्नो ऐतिहासिक परम्परालाई कायम राख्दै वर्तमान र भविष्यका चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम संस्थाका रूपमा थप विकास गरी भावी पुस्तामा हस्तान्तरण गर्दै लैजानु सबैको साझा दायित्व भएको बताए।
देशको सार्वभौमिकताको रक्षाका लागि सेनाले निर्वाह गरेको भूमिकालगायत आन्तरिक सुरक्षा, विकास निर्माण, विपत् व्यवस्थापन तथा अन्तरराष्ट्रिय शान्ति स्थापनाले नेपाली सेनालाई स्वदेश र विदेशमा एक विश्वसनीय एवं सम्मानित संस्थाका रूपमा स्थापित गरेको उनकाे भनाई थियो ।
प्रधानसेनापति सिग्देलले हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले देखाएको उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र एवं कार्य कुशलताको सर्वत्र प्रशंसा भएको बताए ।
उनले नेपाली सेना, कल्याणकारी बोर्डले देशमा रहेका हितकारीहरूलाई एउटै छानामुनि ल्याउनका लागि सञ्जाल बनाउने र विस्तार गर्ने कार्य गर्दै आइरहेको बताउँदै हितकारीहरूको सङ्ख्याका आधारमा देशव्यापी राष्ट्रिय सञ्जालका रूपमा वडा तहसम्म विस्तार गर्ने अभियान तीव्र गतिमा अघि बढाइएको बताए ।
प्रधानसेनापति सिग्देलले समग्र आर्थिक क्षेत्रमा आएको सङ्कुचन र सुस्तताका कारण बैङ्किक क्षेत्रमा थपिएको चुनौती र नेपाली सेनाको मुद्दति निक्षेपको ब्याज आम्दानीमा आएको भारी गिरावट तथा शान्ति स्थापनामा खटिएका फौजहरूको सङ्ख्यामा भएको कटौतीका कारण कल्याणकारी कार्यहरूको सञ्चालन र दिगोपनामा चुनौती देखापरेको बताए ।
नेपाली सेना सैनिक कल्याणकारी कोषका कार्यकारी प्रमुख हिरालाल जोशीले कल्याणकारी कोषको स्व–आम्दानीको स्रोत घट्दै गएको जानकारी गराउँदै कोषद्वारा यसअघि सञ्चालित शिक्षा, स्वास्थ्य, रोजगारलगायतका सेवासुविधाहरू सञ्चालन गर्न कठिनाइ हुँदै गएको बताए।
कार्यक्रममा भूतपूर्वसैनिक तथा बहालवाला तथा भूतपूर्व सैनिकका अशक्त आश्रित परिवारमध्ये विभिन्न कर्जा प्राप्त गर्ने ऋणीहरूलाई चेक हस्तान्तरण, कल्याणकारी कार्यक्रमअन्तर्गत सर्वोत्कृष्ट र उत्कृष्ट लघुउद्यम व्यवसायीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।