


पोखरा, २७ चैत । पोखरा महानगरपालिका ८ सभागृह चोक नजिकै धारिलो हतियार प्रहार गरी ४२ वर्षीया सिर्जना पौडेल केसीको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले बाटोमा हिँडिरहेको अवस्थामा सिर्जनाको हत्या गर्ने कार्यमा संलग्न पर्वत कुश्माका २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी र पोखराका ३२ वर्षीय कुशल परियारलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
चैत २५ गते बुधबार साँझ पोखरा–बागलुङ सडक खण्डको शिवालय चोक नजिकै सिर्जनालाई अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
पछाडिबाट भएको आक्रमणपछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएकोमा चिकित्सकले सोही दिन राति ८ः१८ बजे मृत घोषणा गरेका थिए । मृतक सिर्जना पोखरा महानगरपालिका ५ जिरो किलोमिटर घर भई हाल वडा नम्बर १८ सेदी बस्दै आएकी थिइन् ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले अभियुक्त सन्तोषलाई रुपन्देहीको बुटवल २ मनकामना टोलबाट र कुशललाई पोखराबाटै शुक्रबार पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये सन्तोष यसअघि पनि अभद्र व्यवहार, चोरी तथा डाँकासम्बन्धी कसुरमा संलग्न रहेको र कुशल लागुऔषध मुद्दामा जेल परिसकेको खुलेको छ ।
प्रारम्भिक अनुसन्धानका अनुसार यो हत्या पारिवारिक बेमेल र सम्पत्तिको विवादका कारण भएको देखिएको छ ।
सिर्जना ’खसी किन्ने किस्ने’ नामले चिनिने कृष्ण क्षेत्रीकी दोस्रो श्रीमती थिइन् । कृष्णको जेठी श्रीमतीतर्फ १ छोरा र २ छोरी रहेका छन् । ३ वर्षअघि कृष्णको मृत्यु भएपछि एकल जीवन बिताइरहेकी सिर्जनासँग उनकी ४ वर्षकी छोरी रहेकी थिइन् । कास्की जिल्ला अदालतले बकसपत्र सम्बन्धी मुद्दामा सिर्जनाको पक्षमा फैसला गरिदिएपछि परिवारभित्र विवाद चुलिएको प्रहरीले बताएको छ ।
हत्यामा संलग्न व्यक्तिले अनुहारमा मास्क र हेलमेट लगाएर स्कुटरको नम्बर प्लेट समेत छोपेर आक्रमण गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनामा प्रयोग भएको ग २५ प ३०४४ नम्बरको स्कुटर पोखरा ७ मुस्ताङ चोकबाट बरामद गरेको छ । त्यस्तै, हत्यामा प्रयोग गरिएको रगत लागेको धारिलो हतियार (खुँडा) पोखरा १६ बिरौटास्थित तितेपानी जंगलबाट बरामद गरिएको छ । (समाधान न्युजबाट)