


पोखरा, २७ चैत । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एक चुनावी हारबाट चिन्तित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पार्दै अहिले गहिरो चिन्तन आवश्यक रहेको बताएका छन् । “म चिन्तनमा छु, चिन्तामा छैन। एउटा हारबाट चिन्ता हुने होइन, तर गहिरो चिन्तन भने आवश्यक छ,” उनले भने।
कांग्रेस गण्डकी प्रदेश समितिले शुक्रबार पोखरामा आयोजना गरेको निर्वाचन समिक्षा कार्यक्रममा उनले पार्टी अहिले “कम बोल्ने, धेरै सुन्ने” अभियानमा रहेको उल्लेख गर्दै जनताको भावना र अपेक्षा बुझेर अघि बढ्ने रणनीति लिइएको बताए।
थापाले विश्वभर पुराना राजनीतिक शक्तिहरूलाई चुनौती बढिरहेको उल्लेख गर्दै नेपाल पनि त्यसबाट अछुतो नरहेको बताए। “अहिले पपुलिजम र सामाजिक सञ्जालका कारण चुनौती अझ थपिएको छ,” उनले भने।
उनले संघीय स्तरमा प्रमुख प्रतिपक्षी भए पनि प्रदेशमा सत्तापक्षको भूमिकामा रहेको कांग्रेसले आगामी एक वर्षभित्र नयाँ काम र प्राथमिकता तय गर्ने जानकारी दिए। “अबको एक वर्षमा हामी के नयाँ गर्छौं भन्नेबारे स्पष्ट निर्णय गर्छौं,” उनले थपे।