


दमौली, ७ वैशाख । म्याग्दे गाउँपालिका-१ दभुङ डॉडामा आइतबार चण्डी पूजा धुमधामका साथ सम्पन्न भएको छ । चण्डी पूजाका लागि जामुने, साँगे, मनपाङ, दमौली, पोखरा लगाएतका क्षेत्रबाट हजारौं भक्तजनहरु आएका थिए ।
आइतबार १ जना मुल पूजारी सहित ८ जना अन्य पुजारीहरुद्वारा बाजागाजा सहित पूजापाठ गरिएको थियो । भाकल गर्ने र मनोकांक्षा पुरा हुने भएपछि भक्तजनहरुले मन्दिरमा पुगेर बली चढाउने गर्दछन् ।
मन्दिरमा १२ वटा सुगुर, १५ वटा पाठा, ५ सय भन्दा बढी कुखुरा, परेवा लगाएत पशुपंक्षिको बलि चढाइएको मन्दिरका मुल पूजारी दुर्जाधन थापा मगरले जानकारी दिए । अक्षयतृतीय पछिको पहिलो आइतबार रहेको चण्डी पूजामा मेला भने भक्तजनहरु ५ हजार बढी रहेको चण्डीदेवी मन्दिर संरक्षण समिति एवं अक्षयकोषका अध्यक्ष काजीमान श्रेष्ठले बताए ।
गाउँमा संकट पर्दा चण्डीदेवीलाई सम्झने र संकटको अन्त्य भएपछि मन्दिरमा गएर बली दिइने गरिएको स्थानीय बुढापाका बताउँछन् । लामो खडेरी परेका बेलामा समेत चण्डी पूर्णिमाका दिन मन्दिरमा बली चढाउँदा वर्षा हुँदै आएको मन्दिर संरक्षण समितिका पदाधिकारी बताउँछन् ।
रुखमा च्यापिएको जातो, गणेशको सुढ जस्ता देवीदेवताको आकृति वरिपरिको हरियाली जंगल र त्यहाँबाट देखिने रमणीय दृश्यले त्यहाँ पुग्ने भक्तजनको ध्यान खिच्ने गरेको दभुङवेसी टोल विकास संस्थाका अध्यक्ष माधव पुलामी मगरले बताए ।
विशेष गरी चण्डी मेलामा गाँउमै फलेको काक्रो, केरा, उसुनेको तरुल, पिडालु, दही लगाएत स्थानीय स्तरमा उत्पादन हुने फलफुलहरुको व्यापार भएको थियो । चण्डीदेवी मन्दिरमा अन्य महिनाको पहिलो आइतबारका दिन मासिक रुपमा पूजा गरिन्छ ।