


काठमाडौं, १२ वैशाख । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका अनधिकृत बस्तीहरू खाली गराउने क्रममा थापाथली क्षेत्र शान्तिपूर्ण रूपमा खाली गरिएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी पहिचान भएका छन्।
उक्त क्षेत्रका बासिन्दाहरूले सरकारको कदममा सहयोग जनाएपछि थापाथलीमा बस्ती हटाउने कार्य शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।
हालसम्म थापाथली क्षेत्रमा बसोबास गर्दै आएका ६८ परिवार सरकारको सम्पर्कमा आइसकेका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी रहेको छ।
सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्याई उनीहरूको विवरण सङ्कलन गरिने र त्यसपछि काठमाडौंका विभिन्न होटलहरूमा अस्थायी रूपमा राख्ने तयारी गरिएको छ। होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु हुने बताइएको छ।
सरकारका अनुसार वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नं १ स्थित सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिनेछ। त्यसपछि उनीहरूको दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।