मनकामना मन्दिर-गोरखा दरबार दौड : तनहुँका धावकको बर्चस्व
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मनकामना मन्दिर-गोरखा दरबार दौड : तनहुँका धावकको बर्चस्व

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०८३, मंगलवार

    दमौली, १५ वैशाख । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । सोमबार सम्पन्न प्रतियोगिताको उपाधि तनहुँका सनम गुरुङले हात पारेका छन् ।

    जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको आर्थिक सहयोगमा सोमबार प्रतियोगिता भएको हो । मनकामनादेखि गोरखा दरबारसम्मको ४२ दशमलव १९५ किलोमिटर दौडमा प्रथम बनेका गुरुङले नगद रु ५५ हजार प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम तामाङले बताए । गुरुङले दुई घण्टा ५९ सेकेण्डमा उक्त दौड पूरा गरेका थिए ।

    उक्त दौड मनकामना मन्दिरदेखि ताक्लुङ-तीनमाने-घैरुङ-नाम्जुङ-काउलेभङ्गार-बुङ्कोट-ढुड्गागाढे-आहाले भञ्ज्याङ-बराह मन्दिर-हस्पिटल चोक-हरमटारी-बसपार्क-बिपी चौतारा-ठूलो आँगन-सतिपीपल-गैरीकुवा-हनुमानथान (गोरखाकाली मन्दिर) पुगेर टुङ्गिएको थियो ।

    महिलातर्फ कास्कीकी सपना गुरुङ प्रथम बनेकी छन् । चार घण्टा ५१ सेकेण्डमा दौड पूरा गरी प्रथम बनेकी गुरुङले रु ५५ हजार नगद पुरस्कार प्राप्त गरेको अध्यक्ष तामाङले जानकारी दिए । पुरुषतर्फको प्रतियोगितामा कास्कीका सफल लामा दोस्रो तथा कास्कीकै चेतनाथ चालिसे तेस्रो बनेका छन् ।

    क्रमशः तीन घण्टा १० मिनेट र तीन घण्टा २८ मिनेटमा दौड पूरा गरी रु ३० हजार र २० हजार प्राप्त गरेका छन् । प्रतियोगितामा सान्त्वना बनेका पर्वतका सन्तोष परियार र गोरखाका अञ्जन पौडेलले जनही रु पाँच-पाँच हजार नगद पुरस्कार प्राप्त गरेको आयोजकको भनाइ छ । 

    मनकामनादेखि गोरखा दरबारसम्मको ४२ दशमलव १९५ किलोमिटर दौडमा महिलातर्फ तनहुँकी बिबिका लामा तेस्रो, नवलपुरकी डोलमाया महतो तेस्रो र नवलपुरकै सूर्यकुमारी महतो सान्त्वना स्थान प्राप्त गरेका छन् । उनीहरुले क्रमशः रु ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारका साथमा प्रमाणपत्र प्राप्त गरेको खेलकुद विकास समिति गोरखाका अध्यक्ष प्रेम तामाङले बताए । 

    यसैगरी, मनकामनादेखि तीनमानेसम्मको १० किलोमिटर दौडमा महिलातर्फ नवलपुरकी प्रकृति लुङ्गेली प्रथम, कास्की साधना परियार द्वितीय र तनहुँकी नम्रता गुरुङ तृतीय र पुरुषतर्फ कास्कीका बादल कार्की प्रथम, तनहुँका आदित्य जेसी द्धितिय र गोरखाका सविन सापकोटा तृतीय भए । महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः रु ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेको अध्यक्ष तामाङले जानकारी दिए । 

    मनकामनादेखि जुम्ली चौतारासम्मको पाँच किलोमिटर दौडमा पुरुषतर्फ गोरखाका सरोज गिरी प्रथम, तनहुँका कमल विक द्वितीय र म्याग्दीका सक्षम बोहोरा तृतीय भए ।

    महिलातर्फ पाँच किलोमिटर दौडमा तनहुँकी मनकुमारी लामा प्रथम, पर्वतकी सिम्रन थापा द्वितीय र स्याङ्जाकी विमला माया मान्नधर तृतीय भए । महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु १५ हजार, सात हजार ५०० र रु पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन् । 

    खेलक्षेत्रमार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तामाङले बताए । प्रतियोगितामा सहभागीलाई यातायातसहित खान र बस्ने व्यवस्था आयोजकले गरेको थियो । 

    प्रदेशस्तरीय उक्त प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट खेलाडीले सहभागिता जनाएका थिए । जसमा गण्डकी प्रदेशभित्रका ११ जिल्लाबाट एक जना पुरुष र एक जना महिलाका दरले सहभागिता जनाएका तामाङको भनाइ छ ।