


दमौली, १५ वैशाख ।तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदका उम्मेदवारका रूपमा सक्रिय अभियानमा जुटेका छन्।
उम्मेदवारी घोषणा पश्चात् श्रेष्ठले गण्डकी प्रदेशका विभिन्न जिल्लामा पुगेर व्यवसायीहरूसँग भेटघाटलाई तीव्रता दिएका छन्। उनले व्यवसायीहरूको समस्या, सुझाव तथा अपेक्षाहरू नजिकबाट बुझ्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरिरहेका छन्।
भेटघाटका क्रममा श्रेष्ठले वर्तमान आर्थिक चुनौती, व्यवसायिक वातावरण सुधार, लगानीमैत्री नीति निर्माण र निजी क्षेत्रको सशक्तिकरणमा आफू प्रतिबद्ध रहेको बताएका छन्। उनले साना तथा मझौला व्यवसायीहरूको हितमा विशेष ध्यान दिने र महासंघलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको उल्लेख गरे।
व्यवसायीहरूसँगको अन्तरक्रियामा श्रेष्ठले अनुभव, नेतृत्व क्षमता र स्पष्ट योजना नै आफ्नो मुख्य बल भएको दाबी गरेका छन्। विभिन्न जिल्लामा भइरहेको भेटघाट कार्यक्रमले उनको उम्मेदवारीलाई थप बलियो बनाउँदै गएको देखिएको छ।