म्याग्दे गाउँपालिकामा ‘जलवायु सूचना केन्द्र’ स्थापना हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे गाउँपालिकामा ‘जलवायु सूचना केन्द्र’ स्थापना हुने

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०८३, मंगलवार

    दमौली, १५ वैशाख । तनहुँको म्याग्दे गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना हुने भएको छ । स्थानीय समुदाय, विशेषगरी कृषकहरुलाई समयमै मौसम तथा जलवायु सम्बन्धी सूचना उपलब्ध गराइ जलवायु परिवर्तन न्यूनीकरण, अनुकुलन तथा सामना रणनीति अवलम्बन गर्न सहयोग पु¥याई स्थानीय समुदायको उत्थानशील एवं अनुकुलन क्षमता बढाउने उद्धेश्यले गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना गर्न लागिएको हो ।

    उक्त कार्यका लागि म्याग्दे गाउँपालिका र श्रमिक बालबालिकाहरूको सामाजिक एकीकरण मञ्च (चिल्ड्रेन–नेपाल) बीच मङ्गलबार सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।

    गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र चिल्ड्रेन–नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

    उक्त सूचनाकेन्द्रमार्फत् नागरिकलाई मौसम पूर्वानुमान, वर्षा, खडेरी, हुरीबतास, असिना लगायतका मौसमी घटनाबारे जानकारी उपलब्ध गराइनेछ । साथै कृषि सल्लाह, चेतनामूलक सूचना र जलवायु जोखिम न्यूनीकरणसम्बन्धी जानकारी पनि नियमित रूपमा प्रसारण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।

    केन्द्रमार्फत कृषकहरूलाई जलवायु अनुकूल कृषि प्रविधि, जस्तै थोपा सिँचाइ, ग्रीन हाउस, टनेल खेती, मल्चिङ लगायतका विषयमा जानकारी दिइनेछ । यसले कृषि उत्पादन वृद्धि, खाद्यान्न आत्मनिर्भरता र जीवनस्तर सुधारमा टेवा पुग्ने विश्वास गरिएको अधिकारीको भनाइ छ ।

    गाउँपालिकाले केन्द्र सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्ति तथा सूचना व्यवस्थापनको जिम्मेवारी लिनेछ भने चिल्ड्रेन–नेपालले ‘जलवायु उत्थानशील समुदाय परियोजना’ अन्तर्गत रु दुई लाख सहयोग उपलब्ध गराउनेछ । साथै प्राविधिक सहयोग, चेतनामूलक सामग्री तयारी र प्रचारप्रसारमा पनि सहयोग गर्ने सहमतिपत्रमा उल्लेख छ ।

    जल तथा मौसम विज्ञान विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग तथा गाउँपालिकाको कृषि तथा वातावरण शाखाबाट प्राप्त सूचनाहरूलाई केन्द्रमार्फत स्थानीयकरण गरी कृषकसम्म पु¥याइनेछ । सूचना डिजिटल बोर्ड, मोबाइल म्यासेज, फेसबुक र ह्वाट्सएप समूहमार्फत समेत प्रसारण गरिने व्यवस्था मिलाइने अधिकारीले बताए । उक्त केन्द्र एकमहिनाभित्र सञ्चालनमा ल्याइनेछ ।