


दमौली, १५ वैशाख । आँबुखैरेनी गाउँपालिका–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले शिक्षक पोसाक भत्ता विद्यार्थीको हितमा प्रयोग गर्दै सराहनीय तथा प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन् ।
आर्थिक वर्ष २०८२/०८३ का लागि प्राप्त “शिक्षक पोसाक भत्ता” आफ्नै लागि प्रयोग नगरी विद्यालयका आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा रहेका विद्यार्थीहरूको अवस्थालाई ध्यानमा राख्दै उनले सो रकमबाट विद्यालय पोसाक खरिद गरी वितरण गरेका हुन् । उनलाई पोसाक भत्ताका लागि रु १० हजार प्राप्त भएकामा त्यसमा रु तीन हजार थपेर १३ हजारमा पोसाक खरिद गरी विद्यार्थीलाई सहयोग गरेको उनले बताए ।
प्रधानाध्यापक गुरुङका अनुसार आफूसँग पहिले नै ३/४ सेट शिक्षक पोसाक उपलब्ध रहेकाले पुनः नयाँ पोसाक किन्नुभन्दा वास्तविक आवश्यकता भएका नानीबाबुहरूलाई सहयोग गर्नु उपयुक्त ठानेको बताए ।

गुरुङले मंगलबार ७ जना विद्यार्थीलाई नयाँ विद्यालय पोसाक उपलब्ध गराएका छन् । पोसाक प्राप्त गरेपछि विद्यार्थीहरूमा उत्साह थपिएको छ भने अभिभावकहरूले पनि विद्यालय प्रशासनप्रति कृतज्ञता व्यक्त गरेका छन्।
विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा स्थानीय समुदायले प्रधानाध्यापक गुरुङको यस कदमलाई उच्च प्रशंसा गरेका छन्। उनीहरूले यसलाई केवल सहयोग मात्र नभई सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र नेतृत्व क्षमताको उत्कृष्ट उदाहरणका रूपमा लिएका छन्।
शिक्षा क्षेत्रमा यस्ता साना तर प्रभावकारी पहलहरूले विद्यार्थीको मनोबल वृद्धि गर्ने, विद्यालयप्रति आकर्षण बढाउने तथा सामुदायिक विद्यालयप्रतिको विश्वास बलियो बनाउने अपेक्षा गरिएको छ।