दयाशङ्कर पत्रकारिता सम्मान पत्रकारद्वय बस्नेत र बराललाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    दयाशङ्कर पत्रकारिता सम्मान पत्रकारद्वय बस्नेत र बराललाई

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०८३, मंगलवार

    पाेखरा, १५ वैशाखः नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित एवं दयाशङ्कर पालिखेको परिवारद्वारा स्थापित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे पत्रकारिता सम्मानबाट राससका वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र बिबिसी नेपाली सेवामा कार्यरत पत्रकार कृष्णमणि बराललाई सम्मान गरिने भएको छ ।

    प्रतिभा छनोट समितिले २०८१ बाट पत्रकार बस्नेत र २०८२ बाट पत्रकार बराललाई सम्मान गर्ने गरेको सिफारिसलाई सोमबार नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा बसेको बैठकले अनुमोदन गरेको हो ।

    सम्मानित पत्रकारद्वयलाई जनही एक लाख एक हजार १११ रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिने छ । उनीहरुलाई यही वैशाख २२ गते दयाशङ्कर पालिखेको स्मृति दिवसका अवसरमा सम्मान गरिने पत्रकार महासङ्घ कास्कीका सचिव भूपाल गुरुङले जानकारी दिए।

    प्रतिभा छनोट समितिमा पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी रवीन्द्रनाथ बास्तोला, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवाली र पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बराल र सचिव भूपाल गुरुङ सदस्य रहेका थिए ।

    तनहुँको व्यास नगरपालिका–२ दमौलीमा जन्मनुभएका बस्नेत विगत ३० वर्षदेखि पत्रकारितामा सक्रिय छन्। राष्ट्रिय समाचार समितिमा वरिष्ठ सम्पादकको रुपमा कार्यरत उनले यसअघि राष्ट्रपुकार साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचारपत्र र आदर्श समाज दैनिकमा पनि काम गरेका थिए ।

    त्यस्तै पोखरा महानगरपालिका–७ नुवारथोकमा जन्मनुभएका बराल २०५५ सालदेखि पत्रकारितामा सक्रिय छन्। बिबिसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट दैनिक र इनेचर न्युज डटकममा कार्यरत उनले दी हिमालय टाइम्स, समाधान दैनिक, देशान्तर साप्ताहिक, नेपाली टाइम्स पनि काम गरेका थिए ।