


काठमाडौं, १६ वैशाख । स्वतन्त्र सांसद तथा पूर्वमन्त्री महावीर पुनले सामाजिक सञ्जालमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । संसद सचिवालयले सार्वजनिक गर्दैन कि भन्ने शंका लागेर आफैँले फेसबुकमा हालेको उनको भनाइ छ ।
पुनले देखाएको सम्पत्ति विवरणमा उनको चारवटा जग्गा देखिन्छ भने घर एउटा पनि छैन । आफू डेरामा बसिरहेको उनले बताएका छन् ।
पुनको स्थायी ठेगाना चितवनको राप्ती नगरपालिका-८ स्थित खुरखुरे टोल रहेको छ । यहाँबाट आफूले नागरिकता प्राप्त गरेको उनले बताएका छन् । यस्तै, हाल कास्कीको हमालटोलमा भाडाको घरमा बसिरहेको उनको भनाइ छ ।
पुनका अनुसार कास्कीको माझठाना गाउँपालिकाको वडा नम्बर ७ मा उनको चार टुक्रा जग्गा छ । ती सबै जग्गा जम्मा ४ लाख जतिमा २०५२ सालमा पदम पुनसँग मिलेर किनेको उनले बताएका छन् । कुल मिलाएर जग्गाको क्षेत्रफल ४ रोपनी ६ अना जति हुन आउँछ । यो सबै जग्गा बिक्रीमा राखे पनि अहिलेसम्म नबिकेको उनले जानकारी दिएका छन् ।
उनले आफूसँग ३ तोला सुन रहेको बताएका छन् जुन २०६० सालमा किनिएको हो । यो सुन श्रीमतीलाई इस्टमित्रले उपहार दिएको उनको दावी छ । यस्तै उनको दुई बैंकमा गरी २९ लाख रुपैयाँ नगद मौज्दात रहेको छ । त्यसमध्ये २५ लाख रूपैयाँ हालै चुनाव लड्दा प्राप्त सहयोगबाट उब्रेको हो ।
यो रकम बेनीमा आफ्नो सम्पर्क कार्यालय सञ्चालन गर्न खर्च गरिरहेको उनले बताएका छन् । बाँकी चार लाख पनि साथीहरुबाट प्राप्त भएको र व्यक्तिगत खर्च गर्ने पुनको भनाइ छ ।