दौडमै भविष्य देखेका तनहुँका सनम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    दौडमै भविष्य देखेका तनहुँका सनम

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०८३, बुधबार

    दमाैली, १६ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादी निवासी २६ वर्षीय सनम गुरुङ पछिल्लो समय दौडमा परिचित नाम हो । सामान्य परिवेशमा हुर्किएका उनले आफ्नो भविष्य दौडमा देखेका छन् ।

    विगत सात वर्षदेखि निरन्तर दौडमा सक्रिय रहँदै आएका सनमले आफ्नो अथक मेहनत, लगनशीलता र दृढ इच्छाशक्तिबाट उल्लेखनीय सफलता हासिल गरेका छन् ।

    सनमले हालसम्म एक सयभन्दा बढी दौड प्रतियोगितामा सहभागिता जनाएका छन् । उनले ७० भन्दा बढी पदक जित्न सफल हुनु उनका लागि मात्र नभई आँबुखैरेनी र तनहुँ जिल्लाका लागि पनि गर्वको विषय बनेको छ ।

    No description available.

    तनहुँसहित लमजुङ, गोरखा, स्याङ्जा, चितवन, बागलुङ र धादिङ लगायतका विभिन्न जिल्लामा उहाँले आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् । विशेषगरी तनहुँका विभिन्न स्थानमा आयोजित प्रतियोगिताहरूमा उनले बारम्बार प्रथम स्थान हासिल गर्दै आफ्नो पहिचान स्थापित गरेका छन् । गुरुङले सोमबारमात्रै गोरखामा आयोजित दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए ।

    उनका अनुसार दौड प्रतियोगिताबारे जानकारी पाउन अहिले सामाजिक सञ्जाल मुख्य माध्यम बनेको छ । “कतिपय प्रतियोगिताको जानकारी फेसबुकजस्ता प्लेटफर्मबाट थाहा हुन्छ, कहिलेकाहीँ आयोजकले नै सम्पर्क गर्नुहुन्छ, साथीभाइले पनि खबर गर्छन्,” उनले भने । साथै विभिन्न सञ्चारमाध्यममा आउने खेलसम्बन्धी समाचारहरू पनि उहाँका लागि उपयोगी स्रोत बनेका छन् ।

    No description available.

    सनमको सफलताको पछाडि उनकाे परिवार, विशेषगरी आमाको महत्वपूर्ण भूमिका रहेको छ । उनी आमासँगै बस्दै आएकाे र आमाले हरेक पाइला साथ दिँदै उनलाई प्रेरणा दिइरहेको बताउँछन् । “आमाको साथ र विश्वासले मलाई अझ बलियो बनाएको छ,” सनम भन्छन्।

    No description available.

    आर्थिक दृष्टिले खेलकुद क्षेत्रमा चुनौतीहरू रहे पनि उहाँले पैसाभन्दा सन्तुष्टिलाई ठूलो ठानेका छन् । “दौडमै मेरो भविष्य देखेको छु । मिहीनेत गरिरहेको छु । अहिलेसम्म विदेश जाने सोच बनाएको छैन,” उनले भने । उनका लागि दौड केवल प्रतिस्पर्धा मात्र होइन, जीवनको उद्धेश्य र आत्मसन्तुष्टिको माध्यम बनेको छ ।

    भविष्यमा अझ ठूला प्रतियोगितामा सहभागिता जनाउँदै देशको नाम उचो बनाउने लक्ष्य राख्नुभएका सनम अहिले पनि नियमित अभ्यासमा व्यस्त छन्। आवश्यक पूर्वाधार र अवसरको अभावका बाबजुद उनले हार नमानी आफ्नो यात्रालाई निरन्तरता दिएका छन् ।