


दमौली, १८ जेठ । पूर्वाधारमन्त्री सुनिल लम्सालले तनहुँको दमौलीमा निर्माणाधीन चार लेनको पुलको साेमबार अनुगमन गरेका छन् । मन्त्री लम्सालले पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–४ र ५ मादीनदीमाथि निर्माणाधीन पुलको अनुगमन गरेका हुन् ।
त्यसक्रममा मन्त्री लम्सालले पुलको हालसम्मको प्रगतिका बारेमा जानकारी लिएका थिए ।
मन्त्री लम्सालले मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत पश्चिम र पूर्वी खण्डको समेत स्थलगत निरीक्षण गरेकाे मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
चार लेनको आर्क डिजाइन पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । सूचना अधिकारी पाण्डेका अनुसार हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माणको काम भइरहेको छ ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप भएको छ ।
पाण्डेका अनुसार पुल निर्माणका लागि विसं २०७९ साउन २६ गते अन्नक जेडआइष्टी जेभीसँग सम्झौता भएको थियो । तीन सय १५ मिटर लामो पुलमा छ वटा स्पान रहनेछ । पुलको वारिपारी दुई÷दुई ‘प्रिस्टेटस् बक्स गडर’ स्पान सम्पन्न भइसकेको छ ।
रु एक अर्ब २१ करोड भ्याट सहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्क्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल भएको पाण्डेको भनाइ छ ।