


काठमाडौँ २७ जेठ । सभामुखले संसद् बैठकमा बोल्न समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरू आक्रोश व्यक्त गरेका छन् । बुधवारको बैठकमा सभामुख डीपी अर्यालले कांग्रेस, एमाले, नेकपा र राप्रपालाई बोल्न दिएपछि राष्ट्रपतिको कार्यालयबाट आएको पत्र पढेर सुनाउने तयारीमा थिए । त्यसैवेला श्रम संस्कृतिका सांसद हर्क साम्पाङ उठेर आफूहरूलाई भेदभाव गरेर बोल्न नदिएको भन्दै विरोध गरे ।
एकछिन सभामुख र साम्पाङविच सवाल जवाफ चलेको थियो । त्यसक्रममा सभामुखले विपक्षी दलका सांसदहरूलाई बोल्न दिने भन्दै धैर्य गर्न सुझाव दिए । यही बिचमा सभामुखले रास्वपा सांसद रिमा विश्वकर्मालाई नियमापत्तिका लागि सभामुखले समय दिए । तर साम्पाङ रोकिएनन् । अनि सभामुखले अपमानजनक र अमर्यादित शब्दहरू प्रयोग नगर्न चेतावनी दिए ।