व्यास नगरपालिकाको ४५ औँ नगरसभा असार १० गते, महत्वपूर्ण योजनाको ठेक्का प्रक्रिया अघि बढाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाको ४५ औँ नगरसभा असार १० गते, महत्वपूर्ण योजनाको ठेक्का प्रक्रिया अघि बढाइने

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०८३, बिहीबार

    दमौली, २८ जेठ । व्यास नगरपालिकाको कार्यपालिकाको २३९ औँ बैठक नगर प्रमुख वैकुण्ठ न्यौपाने को अध्यक्षतामा बिहीबार बिहान सम्पन्न भएको छ। बैठकले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुतिका लागि ४५ औँ नगरसभा आह्वान गर्ने लगायत विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।

    नगर प्रमुख न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सम्बन्धित शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।

    बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न मिति असार १० गते बुधबार बिहान ११ः३० बजे नगर सभाकक्षमा ४५ औँ नगरसभाको बैठक आह्वान गर्ने निर्णय गरेको छ। नगरसभामार्फत आगामी वर्षका विकास प्राथमिकता, नीति तथा बजेट सार्वजनिक गरिनेछ।

    बैठकमा चालु आर्थिक वर्षका विभिन्न विकास योजनाको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै बजेट अभाव तथा निर्माणस्थलसम्बन्धी समस्याका कारण हालसम्म ठेक्का प्रक्रिया अघि बढ्न नसकेका महत्वपूर्ण योजनाहरूलाई आवश्यकतानुसार स्थान परिवर्तन गरी बजेट सुनिश्चित गर्दै ठेक्का प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको प्रवक्ता सुरेश थापाले बताए।

    त्यस्तै, ठेक्का सम्झौता भइसकेका केही योजनाहरूको प्रगति सन्तोषजनक नरहेको विषयमा पनि बैठकमा छलफल भएको थियो। निर्धारित समयमै काम सम्पन्न नहुने अवस्था देखिएका योजनाका निर्माण व्यवसायीबाट लिखित प्रतिबद्धता लिएर मात्र औचित्यका आधारमा परियोजनाको निर्धारित अवधिसम्म म्याद थप गर्ने निर्णय गरिएको छ।

    बैठकले महालेखा परीक्षकको प्रतिवेदन २०८३ मा उल्लेख भएका असुलउपर गर्नुपर्ने बेरुजु रकम तत्काल दाखिला गर्न सम्बन्धित सरोकारवाला पक्षलाई निर्देशन दिने निर्णय पनि गरिएको छ।